परिवारले काजकिरिया थालिसकेको थियो, चण्डिकाको जीवितै उद्धार भयो

२०८३ भाद्र २०, शनिबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौ 

२० भदोै २०८३

राजु सामत 

काठमाडौँ — नुवाकोटको बेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठको परिवारले काठमाडौंको उनको काजकिरिया थालिसकेको थियो ।

१० भदौमा भोटेकोशी नदीमा आएको बाढीले गाउँ नै बगाउँदा उनी पनि सम्पर्कविहीन भएकी थिइन् । उनीसहित श्रीमान् आनन्दलाललगायत ५जना सदस्य फेला नपर्ने ठानेर परिवारले कुशको शव बनाएर मृत्यु संस्कार थालेको थियो ।

तर, सशस्त्र प्रहरी बलबाट सडक निर्माणका लागि बेत्रावतीमा खटिएको टोलीले उनको घर नजिकमा शनिबार भग्नावशेषभित्र कोही कराएको आवाज सुन्यो । ‘यहीँबाट पहिले पनि उद्धार र खोज गरेका थियौं, त्यस क्रममा कुनै आवाज आएको थिएन,’ बेत्रावतीमा खटिएका सशस्त्र प्रहरीका निरीक्षक सुमन विकले कान्तिपुरसँग भने, ‘दोहोर्‍याएर हिँडेका बेला आवाज सुनेपछि आसपासको लेदो पन्छाएर खोजी थालेका थियौं ।’

त्यस क्रममा उनी नेतृत्वको टोली झ्याल फोडेर भग्नावशेषभित्र प्रवेश गरेको थियो । ‘घिस्रिँदै प्रवेश गरेको टोली आएको देख्ने बित्तिकै उहाँ थप बोल्न थाल्नुभयो,’ उनले भने, ‘त्यसपछि लेदो पन्छाएर उद्धार गरेका थियौं ।’ श्रेष्ठलाई निकालेपछि सशस्त्र प्रहरीले नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाएको थियो । अहिले उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

बाढीको ११ औं दिनमा जीवितै उद्धार भएको खबर पाएपछि परिवारले अन्तिम संस्कारको कार्य रोकेका छन् । र, अस्पतालमा पुगेका छन् । अहिले परिवारका सदस्यले सुरक्षा संयन्त्रसँग सम्पर्क गरेर घरमा अरु ५ जनासमेत हराइरहेको भन्दै सबैको खोजी गरिदिन आग्रह गरेका छन् । श्रेष्ठका श्रीमान्‌ समेत सम्पर्कविहीन छन् । ‘गम्भीरतापूर्वक खोजी गरिदिनु पर्‍यो भनेर भन्नुभएको छ,’ एक सुरक्षा अधिकृतले भने ।

नेपाली सेनाले शनिबारै रसुवाको माथिल्लो त्रिशूली-१ को जलविद्युत् आयोजनाको सुरुङको २२५ मिटरभित्रबाट एक जना चिनियाँ नागरिकलाई समेत उद्धार गरेको छ । चिनियाँ उद्धार टोलीसमेतको सहयोगमा लुहाईतो नामक चिनियाँ नागरिकको उद्धार गरिएको हो । उनको पनि सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय