एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२: एरिका तेस्रो पटक विजेता, करातेको वर्चस्व

२०८३ भाद्र १८, बिहीबार
पढ्ने समय : 2 मिनेट

काठमाडौ 

१८ भदोै २०८३

राजु सामत 

काठमाडौँ — करातेकी एरिका गुरुङले लगातार तेस्रो पटक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड जितेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहीबार भृकुटीमण्डपस्थित एनपीसीको ब्लू पभेलियन हलमा आयोजित २३ औं संस्करणको अवार्डमा एरिका महिला वर्ष खेलाडी बन्दा बक्सिङका चन्द्रबहादुर थापा मगर वर्ष पुरुष खेलाडी भए । आइबा विश्व च्याम्पियनपसिपमा कांस्य पदक जितेर इतिहास रचेका चन्द्र वर्ष खेलाडीको हकदार बने । चन्द्रले अवार्ड जित्दा दीपेन्द्रसिंह ऐरी (क्रिकेट, सोमबहादुर कुमाल (एथलेटिक्स), प्रदीप बैजाली मगर (कराते) र सदभाव आचार्य (गल्फ) प्रतिस्पर्धामा थिए । चन्द्र एसियाड तयारीमा हाल भारतमा रहेकाले उनको अवार्ड उनका दाजु तथा १३ औं सागका स्वर्ण विजेता बक्सर भूपेन्द्र थापाले ग्रहण गरेका थिए ।

करातेकी एरिका तेस्रो पटक लगातार वर्ष खेलाडी बन्नेक्रममा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा जितेको पदक आधार बन्यो । उनले डब्लूकेएफ कराते वान प्रिमियर लिगमा रजत पदक, कराते वान सिरिजमा स्वर्ण र थाइल्यान्ड ओपनमा एकल र टिम फाइटमा स्वर्णसहित आधा दर्जन पदक जितेकी छन् । एरिकाको प्रतिस्पर्धीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेका सानुमाया थिङ र सविना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी (साम्बा) मनोनयनमा थिए ।

करातेले युवा, प्रशिक्षक र स्पेसल अवार्डमा पनि बाजी मारेको छ । युवामा करातेकी मनीषाकुमारी बोहरा र प्रशिक्षकमा कुशल श्रेष्ठले अवार्ड जितेका थिए । करातेलाई एकपछि सफलतामा दिलाएका प्रशिक्षक श्रेष्ठले दोस्रो पटक प्रशिक्षक अवार्ड जितेका हुन् । एरिकाले १९ औं एसियाडमा रजत जित्दा दुई वर्षअघि पनि उनी प्रशिक्षकमा विजेता बनेका थिए । युवा विजेता मनीषा र मनोनयनमा परेका रेहानको उपलब्धिमा पनि कुशलको भूमिका उल्लेख्य रह्यो ।

कुशलले प्रशिक्षकमा बक्सिङका दीपक महर्जन, करातेका मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेट प्रशिक्षक पुरन सिंह खत्रीलाई पछाडि पारेका थिए ।

स्पेसल अवार्डको सम्मान प्राप्त गर्नेमा पनि करातेकी ध्रुवविक्रम मल्ल रहे । २०४८ सालमा बालाजु कराते डो एकेडेमीमार्फत उनले थुप्रै अन्तर्राष्ट्रिय कराते खेलाडी उत्पादन गरेका उनी पछिल्लो समय अल्ट्रा रेसतर्फ क्रियाशील छन् । एसियाली खेलकुदका कांस्य जित्ने विमला तामाङदेखि साग खेलकुदमा स्वर्ण पदक दिलाउने दर्जनौं पदकधारी खेलाडी उनकै डोजोबाट उत्पादन भएका हुन् ।

सर्वाधिक मत प्राप्त गरी भलिबलकी मीना सुनारले पिपल्स च्वाइस अवार्ड जितिन् । पिपल्स च्वाइसमा रहेको भलिबलको वर्चस्वलाई मीनाले पनि कायमै राखिन् । गत वर्ष यो अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।

डिजिटल वालेट खल्ती बाई आईएमईबाट प्राप्त मत, आयोजक मञ्चका सदस्यको मत, विभिन्न खेलका प्रमुख प्रशिक्षकको मत तथा सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मतका आधारमा मीना विजेता बनेकी हुन् । उनले सर्वाधिक २९.४ प्रतिशत मत प्राप्त गरेकी थिइन् । यस विधाको मनोनयनमा रहेका एमएमए फाइटर रवीन्द्र ढाँट, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ र क्रिकेटका शेर मल्ल थिए । रवीन्द्र २४.५३ प्रतिशत मत प्राप्त गरी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा रहेकी सानुमायाले १८.४८ प्रतिशत मत पाएकी थिइन् । पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, युवा तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार जितेका छन् ।

युवा खेलाडी मनीषाले करातेकै रेहान जाबेद, बक्सिङका अर्पिल राना, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तवलाई पछाडि पार्दै अवार्ड जितेका थिए । गत वर्ष मनिषाले एसियन २३औं क्याडेट, जुनियर तथा यू–२१ कराते च्याम्पियनसिपमा कांस्य तथा श्रीलंकामा नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दुई स्वर्ण जितेकी थिइन् ।

नेपाललाई प्रथम दृष्टिविहिन महिला टी–२० क्रिकेटको फाइनलसम्म पुर्‍याउन विशेष योगदान दिने सुष्मा तामाङले पारा एथलिट सम्मान पाइन् । उनी पूर्ण रूपमा दृष्टिविहीन  अर्थात बी वान क्याटगोरीकी क्रिकेटर हुन् ।

ब्याडमिन्टनका भेट्रान कुमार मोहनबहादुर शाही ‘एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । ८३ वर्षीय शाही एसियाली खेलकुद खेल्ने ब्याडमिन्टनका पहिलो पुस्ताका खेलाडी हुन् । आफ्ना जमानाका उनी ब्याडमिन्टनसँगै फुटबल, टेबलटेनिस, टेनिस र ब्याडमिन्टनका उम्दा खेलाडी थिए ।

एनएसजेएफले हरेक वर्ष एसियाभरका एक खेल पत्रकारलाई सम्मानित गर्दै आएको छ । यस वर्ष भारतका खेलपत्रकार सवा नायकन एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानित भए । एआईपीएसका सदस्य तथा एआईपीएसका उपाध्यक्ष नायकनसँग दी हिन्दु, इन्डियन एक्सप्रेस र टेलिग्राफमा काम गरेको अनुभव छ ।

गोल्छा ग्रुपका अध्यक्ष आशुतोष अग्रवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, क्रिकेटका पूर्व कप्तान पारस खड्कालगायतले ९ विधाका विजेता तथा सम्मानित व्यक्तित्वलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय