काठमाडौ
२१ भदोै २०८३

राजु सामत
हेटौँडा — काठमाडौंको लाइफ लाइन पृथ्वीराजमार्गको कृष्ण भीर खण्ड भाँसिएर सवारी साधन बन्द भएपछि हेटौँडा हुँदै काठमाडौं प्रवेश गर्ने त्रिभुवन राजपथ, कान्तिलोक पथ र हेटौँडा-भीमफेदी-कुलेखानी फाखेल र सिस्नेरी सडकमा सवारीको चाप बढेको छ ।
नेपालकाे सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथमा मालवाहक र यात्रुवाहक सवारी साधनहरूको लामो लाइन लागेकाे छ । साँघुरो र घुमाउरो सडकमा १२ पाङ्ग्रेदेखि लामादुरीका ठुला बसहरू हेटौँडा हुँदै त्रिभुवन राजपथ भएर काठमाडौं प्रवेश गर्ने गरेका छन् ।
‘१२ पाङ्ग्रे मालवाहक ट्रक र ठुला बसहरू त्रिभुवन राजपथमा मोड नपुगेर ‘ब्याक’ गरेर सुस्त गतिमा बढ्ने गरेको छ । ‘मोड’नै पुग्दैन् ब्याक गरेर अगाडि बढ्नु पर्छ,’ १२ चक्के मालवाहक गाडीका चालक श्रीराम लामाले भने, ‘उकालो सडक, साँघुरो मोड र घुमाउरो सडक भएकाले काठमाडौं पुग्न १० घन्टा लाग्छ ।’ त्रिभुवन राजपथमा अहिलेसम्म सवारी साधन नचलाएका चालकहरूलाई यो सडकमा गाडी चलाउन कठिन छ । पुराना सवारी साधन पनि यो राजपथ भएर काठमाडौं जान सक्दैनन् चालक लामाले थपे, ‘पुराना चालकहरूले मात्र राजपथमा सवारी साधनहरू सहज ढंगले राजधानी पुर्याउन सक्छन्, पुराना गाडीहरू यो राजमार्ग पार गर्न सक्दैनन् ।’ कयौं पुराना गाडी बिग्रेर सडकको किनारामा राखिएका छन् ।
त्रिभुवन राजपथ साँघुरो र उकालो सडक भएकाले दैनिकजसो दुर्घटना समेत हुने गरेको छ । जसले सावरी साधन घण्टौं जाम हुने गरेको छ । सवारी साधनको चापले त्रिभुवन राजपथमा दैनिक ३ देखि ४ घन्टा जाम हुने गरेको छ ।
२०१३ सालदेखि सञ्चालनमा आएको त्रिभुवन राजपथका अधिकांश मोडमा खाल्डाखुल्डी छन् । सडकका कालोपत्रेहरू उप्किसकेका छन् । सवारी साधनको चापले हेटौँडावाट भैँसेसम्म पुग्न झण्डै २ घन्टा लाग्छ । त्रिभुवन राजपथ भएर दैनिक ६ हजार मालवाहक र यात्रुवाहक सवारी साधन हेटौँडाबाट राजधानी जाने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम केसीले वताए ।
हेटौँडा-भैसे, भीमफेदी, कुलेखानी फाखेल सिस्नेरी सडकमा दैनिक ७ हजार साना सवारी साधन आउजाउ गर्छन् । कान्तिलोकपथबाट दैनिक ४ हजार भन्दाबढी खाली सवारी साधनहरू हेटौँडा आउने गर्छन् । पृथ्वीराजमार्ग अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक ट्रक र १४ सिटभन्दा बढी सिटका यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथहुँदै काठमाडौं पठाउने गरेको छ भने १४ सिटभन्दा कमका सवारी साधनलाई भैँसे, भीमफेदी कुलेखानी हुँदै काठमाडौं पठाउने गरेको छ । यसैगरी खाली सवारी साधनहरुलाई कान्तिलोकपथ भएर हेटौँडा आउनु पर्ने व्यवस्था गरेको छ ।

