काठमाडौ
२६ भदोै २०८३

राजु सामत
चितवन — गुड्दै गरेको बा प्र ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कार (ईभी) मा आगलागी हुँदा शुक्रबार बिहान भरतपुरमा एक जनाको निधन भएको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्गको भरतपुर महानगरपालिका–९ गोन्द्राङ नजिक बसन्त चोकमा बिहान ६ बजेतिर उक्त घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चितवन प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र भुसन यादवका अनुसार उक्त घटनामा भरतपुर महानगरपालिका–१२ का ५६ वर्षीय अमर पराजुलीको निधन भएको छ । ‘गोन्द्राङ कोकाकोला कारखानासम्म कारमा केही नभएको देखिन्छ,’ डिएसपी यादवले भने । उनका अनुसार GAC AION कारमा आगोलागी भएको र नेपालमा यसको आधिकारिक विक्रेता सिजी मोटर्स हो । अनुशन्धानका क्रममा कम्पनीका प्रतिनिधिसँग पनि बुझ्ने उनले बताए । कोकाकोला कारखानादेखि पश्चिम करिब ५०० मिटर पर राजमार्गको मुख्य लेन नाघेर गाडी दक्षिण मोडिएको थियो । गाडी पूर्वबाट भरतपुरतर्फ आउँदै थियो ।
बसन्तचोकका प्रत्यक्षदर्शी घनश्याम पौडेलले सडकमा कालो मुस्लो र आगोको ज्वालासहित कार स्पिडमा आएको बताए । त्यसपछि गाडी मुख्य लेन कटेर दक्षिणतर्फको सर्भिस लेनमा छिर्यो । सर्भिस लेन पनि थोरै कटेर बायाँतर्फको एउटा सानो खोल्सोमा कोल्टे परेर कार अडिएको उनको भनाइ छ । उनले भने, ‘सुरुमा कारको पछाडिको भागमा मात्र आगो लागेको थियो । अगाडिको भागमा थिएन । खोल्सोमा अड्किएपछि अगाडि पनि आगो फैलियो ।’ आगो बढ्दै ठुलो आवाजमा पड्केको उनले सुनाए ।
डिएसपी यादवले प्रहरीले प्रत्यक्षदर्शीहरूको बयान लिने, आसपासका सीसीटीभी फुटेज हेर्ने काम गरिरहेको बताए । ‘आगलागीको कारण यही नै हो भनेर तत्कालीन विवरणका आधारमा मात्रै धारणा बनाउनुभन्दा पनि मेकानिकल इन्जिनियरलगायतका विज्ञहरूको टिम बनाएर अनुशन्धान अगाडि बढाउँदैछौं । विज्ञको अनुशन्धानले नै ठोस् कारण पत्ता लाग्छ,’ उनले भने ।
को हुन् पराजुली ?
भरतपुर महानगरपालिका–१२ मालपोतचोक अगाडि घर भएका पराजुलीको डेरी र किराना पसल छ । यसअघि भरतपुर शिवघाटमा रहेको नारायणी विद्यामन्दिर स्कुलका सञ्चालक पनि थिए । २०५१ सालमा स्थापना भएको उक्त विद्यालयमा उनी २०५६ सालमा मुख्य सञ्चालकका रुपमा प्रवेश गरेका थिए । ५ वर्षअघि उक्त विद्यालयको सञ्चालकबाट बाहिरिएका थिए । हेटौंडा गएका पराजुली शनिबार बिहान घर फर्कँदै थिए ।

