एक दशकभित्र एआईले मानव जातिको विनाश गर्ने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको एआई अनुसन्धानकर्ताको दाबी

२०८३ भाद्र २५, बिहीबार
पढ्ने समय : 2 मिनेट

काठमाडौं 

२५ भदोै २०८३

राजु सामत

काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रका दुई प्रमुख अमेरिकी कम्पनी, ओपेनएआई र एन्थ्रोपिक दुवैमा काम गरेका २७ वर्षीय जेकब कक्सन अहिले व्यापक चर्चामा छन् । उनले बुधबार मात्रै एन्थ्रोपिकको अनुसन्धानकर्ताको पदबाट राजीनामा दिँदै एआईका सन्दर्भमा साझा गरेको एउटा चेतावनीमूलक भनाइ इन्टरनेटमा बहसको विषय बनेको छ ।

जेकबले ‘एक्स’ मा पोस्ट गर्दै एआई प्रविधि निर्माण गरिरहेका अग्रणी कम्पनीहरू गैरजिम्मेवार बनेको र मानव जातिलाई नै जोखिममा पार्ने गरी सुपर इन्टेलिजेन्स बनाउने होडबाजीमा लागेको उल्लेख गरेका छन् । उनको यस्तो चेतावनीलाई समर्थन गर्दै एन्थ्रोपिककै अलाइनमेन्ट वैज्ञानिक इभान हुबिन्गरले अबको एक दशकभित्र एआईले सम्पूर्ण मानव जातिको विनाश गर्ने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको दाबी गरेपछि यो मुद्दा झनै चर्चाको केन्द्रमा आएको हो । सुपर इन्टेलिजेन्सलाई नियन्त्रण गर्ने स्पष्ट योजना नरहेको उनले स्वीकारका छन् ।

नेपाली समयअनुसार बुधबार बिहान पब्लिस भएको जेकबको पोस्टमा हालसम्म करिब १४ करोड भ्युज छ । उनले तीन वर्ष ओपनएआई र एन्थ्रोपिकमा एआईको प्रशिक्षण (प्रिट्रेनिङ) अनुसन्धानमा बिताएका थिए । एआई कम्पनीहरू एकअर्कालाई जित्ने होडबाजीमा लागेको, मानिसको जीवनसँग जुवा खेलिरहेको र प्रविधि नियन्त्रणबाहिर गइरहेको निष्कर्षमा पुगेपछि आफूले राजीनामा दिएको जेकबले विभिन्न सञ्चार माध्यमसँगको अन्तर्वार्तामा बताइरहेका छन् ।

जेकबले केही महिनायता देखापरेका घटनालाई मुख्य चेतावनीका रूपमा औँल्याएका छन् । ‘दुई महिनाअघि, ओपनएआईका एआई एजेन्टहरूले स्वविवेक प्रयोग गरेरस एक कम्पनी (हगिङ फेस) को पूर्वाधार ह्याकिङ गरेका थिए,’ जेकबले सीएनएनका एन्डरसन कुपरसँगको कुराकानीमा भनेका छन्, ‘यो एआईले आफ्नै इच्छाले सञ्चालन गरेको एउटा ठूलो ह्याकिङ अभियान थियो । हामीले भविष्यमा यस्तै स्वतन्त्र इच्छा र उच्च क्षमता भएका एआई मोडेलको विकास गर्दै गयौँ भने, उनीहरूले अत्यन्तै ठूलो विनाश निम्त्याउन सक्छन् ।’

सुपर इन्टेलिजेन्स टुलहरूले संवेदनशिल पूर्वाधार ह्याक गर्ने वा मानव प्रजाति नै समाप्त पार्ने खालका जैविक हतियार निर्माण गर्नेजस्ता काम गर्न सक्ने जेकबको ठहर छ । ‘एआईले विश्वमा आफूलाई सक्रिय बनाउने र असर पार्न सक्ने धेरै तरिका छन्,’ उनी भन्छन्, ‘मान्छेको निर्देशन नलिई एआई मोडेलले आफैँ निर्णय गरेर यस्ता कार्य गर्नु साह्रै डरलाग्दो कुरा हो ।’

जेकबका अनुसार अहिलेका मोडेलबाट तत्कालै मानव विनाशको खतरा छैन । तर, एआईले आफूलाई ‘रिकर्सिभ सेल्फ–इम्प्रुभमेन्ट’ अर्थात निरन्तर बुद्धिमानी बनाउने क्षमता हासिल गरेपछि स्थिति नियन्त्रणबाहिर जाने उनको तर्क छ । गणित र कोडिङका जटिल समस्या समाधान गर्ने क्षमतामा भएको तीव्र वृद्धिले यो खतरा निकै नजिकिँदै गरेको संकेत गर्ने जेकबले बताएका छन् ।

एआई कम्पनीहरूबीचको तीव्र प्रतिस्पर्धा हेर्दा कुनै कम्पनीभित्र बसेर सुधार ल्याउन असम्भव रहेको भन्दै जेकबले राजिनामा दिएको उल्लेख गरेका छन् । उनले एआई विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय सरकारी स्तरबाट कडा नियमन हुनुपर्ने माग गरेका छन् । वालस्ट्रिट जर्नलका अनुसार एन्थ्रोपिकले शेयर बजारमा सूचीकृत हुन लागेको र २ खर्ब डलरको मूल्यांकन खोजिरहेको बेला उनले ठूलो आर्थिक लाभ त्यागेर राजिनामा दिएका हुन् ।

जेकबको चेतावनीपछि अमेरिकी राजनीतिमा पनि तरंग पैदा भएको छ । सिनेटर बर्नी स्यान्डर्सले एआई निर्माण गर्नेहरू स्वयंले नै यसको खतरा स्वीकार गरेको भन्दै जेकबको भनाइमा सहमति जनाएका छन् । स्यान्डर्स र सांसद ग्रेग कासारले सुपर इन्टेलिजेन्समाथि प्रतिबन्ध लगाउने र एआई विकासलाई केही समय रोक्ने विधेयक ल्याउने घोषणा गरेका छन् ।

एन्थ्रोपिकका प्रवक्ताले सीएनएनलाई प्रतिक्रिया दिँदै एआईका फाइदा र अभूतपूर्व जोखिमबारे कम्पनी सँधै पारदर्शी रहेको बताएका छन् । कम्पनीले सबैभन्दा बलियो सुरक्षा मापदण्ड र  ‘रेस्पोन्सिबल स्केलिङ पोलिसी’ अपनाएको दाबी गरेको छ । एन्थ्रोपिकले हालै सार्वजनिक गरेको ‘रिस्क रिपोर्ट २०२६’ मा एआई मोडेलहरूले स्वायत्त रूपमा संस्थाका कोड वा सुरक्षा अनुसन्धानलाई बिगार्न वा दुरुपयोग गर्न सक्ने सम्भावनाको विश्लेषण गरिएको छ । हालका मोडेलहरूमा गोप्य रूपमा प्रणाली छल्ने क्षमता कमजोर रहेकाले यसको समग्र जोखिम ‘न्यून’ रहेको रिपोर्टमा उल्लेख छ ।

एन्थ्रोपिकका प्रमुख कार्यकारी डारियो अमोदेई र ओपनएआईका प्रमुख कार्यकारी स्याम अल्टम्यानले पनि विगतमा एआईको अस्तित्व सम्बन्धी खतराबारे सार्वजनिक रूपमा चेतावनी दिँदै आएका छन् । ओपनएआईका मुख्य वैज्ञानिक जेकब पाचोकीले पनि मेसिन इन्टेलिजेन्सको द्रुत वृद्धिका परिणामबारे कसैको तयारी नपुगेको भन्दै उच्च सतर्कता अपनाउन आह्वान गरेका छन् ।

 

रासस:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय