लुम्बिनी
२० साउन २०८३

राजु सामत
अर्घाखाँची, सन्धिखर्क।
सामाजिक रूपान्तरणमा युवाको प्रभावकारी भूमिका, समाजमा बढ्दो विकृति–विसङ्गति न्यूनीकरण तथा युवाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले “सामाजिक रूपान्तरणका लागि युवाहरूको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम तथा युवा सरोकार महासङ्घको समीक्षा कार्यक्रम सन्धिखर्कस्थित डाइमण्ड होटलमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी रहनुभएको थियो भने विशेष अतिथिका रूपमा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख तथा इन्सेक प्रतिनिधि कुलबहादुर नेपालीको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता दलित चेतना विकास परिषद्, अर्घाखाँचीकी जिल्ला अध्यक्ष राधा नेपालीले गर्नुभएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य सागर मरासिनीले राख्नुभएको थियो।युवालाई कुलतबाट टाढा रहन आग्रह
अध्यक्ष राधा नेपालीले आफ्नो अध्यक्षीय मन्तव्यमा देश तथा जिल्लामा बढ्दै गएको कुरीति, कुसंस्कार, कुलत, मध्यपान र धूम्रपानजस्ता सामाजिक समस्याप्रति चिन्ता व्यक्त गर्दै युवाहरूलाई स्वदेशमै बसेर समाज र राष्ट्र निर्माणमा योगदान दिन आग्रह गर्नुभयो।

प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय युवामाझ बढ्दो धूम्रपान, मध्यपान तथा अन्य कुलतले समाजमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्नुभयो। उहाँले राष्ट्र निर्माणका लागि युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सबै युवालाई यस्ता विकृति र कुलतबाट टाढा रहन तथा सकारात्मक सोच र सिर्जनात्मक कार्यमा लाग्न आग्रह गर्नुभयो।

समाजसेवी तथा पत्रकार विजय बस्यालको भनाइ
कार्यक्रममा अर्घाखाँचीका युवा समाजसेवी तथा पत्रकार विजय बस्यालले आरएन खबर मिडियाले समाजमा पुर्याएको सकारात्मक परिवर्तन, विभिन्न सामाजिक सेवामूलक कार्य तथा उद्धारका गतिविधिबारे चर्चा गर्दै युवाहरूलाई पनि समाज परिवर्तनका यस्ता रचनात्मक अभियानमा सक्रिय हुन प्रेरित गर्नुभयो।

कार्यक्रम अन्त्यमा अध्यक्ष राधा नेपालीले सहभागी सम्पूर्ण अतिथि, वक्ता तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभयो।

