बुढीगण्डकी बाढीपछि मनासलुमा पर्यटकको चहलपहल, एक सातामा भित्रिए ११६ पर्यटक

२०८३ कार्तिक ९, आईतवार
पढ्ने समय : 2 मिनेट

काठमाडौ 

०८ कार्तिक  २०८३

राजु सामत

गोरखा — २५ असोजमा बुढीगण्डकीमा आएको बाढीपछि अस्तव्यस्त बनेको मनासलु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बाढीले पदमार्ग कटान गर्दा मनासलु क्षेत्रमा पर्यटक पुग्न सकेका थिएनन् । ३० असोजपछि भने पर्यटक आवागमन सुरू भएको मनासलु संरक्षण क्षेत्र(एमक्याप)का सूचना अधिकारी भुवन ओझाले बताए ।

३० असोजदेखि आइतबारसम्म एमक्यापको जगत चेकपोष्ट भएर ११६ जना पर्यटक भित्रिएका छन् । ‘यो पर्यटक आउने मुख्य सिजन हो, यहि बेला बाढी आएर पदमार्ग कटान गरेपछि केहि दिन पर्यटक मनासलु क्षेत्र आउन सकेका थिएनन्,’ ओझाले भने, ‘३० असोजपछि पर्यटक आउन थालेका छन्, अहिले जगतबाट फिलिम हुँदै लार्केपास गर्ने पर्यटक आइरहेका छन्, चुमभ्यालीतर्फको पदमार्ग सञ्चालन हुन अझै ८–१० दिन लाग्छ ।’ मनासलु आउने पर्यटक चुम र नुव्री भ्याली घुम्ने गर्छन् ।

चुमभ्यालीतर्फ जाने पदमार्गअन्तर्गत चुमनुव्री–६ लोक्पा नजिकैको सर्दिभिरमा बाटो नहुँदा पर्यटकलाई उक्त क्षेत्र पुग्न असहज बनेको हो । जगतबाट फिलिम हुँदै नुब्री भएर लार्केपासको यात्रामा भने सावधानी अपनाउन एमक्यापले आग्रह गरेको छ । ‘मुख्य समस्या खोर्लाबोँसीबाट सल्लेरीसम्म थियो,’ ओझाले भने, ‘खोर्लाबेँसीसम्म गाडीमा आएर त्यहाँबाट सावधानी अपनाउँदै पैदल जगतसम्म आउन मिल्ने भएको छ, जगतबाट फीलिम आएका पर्यटक नुव्री र लार्केपास गर्न सक्छन्, दैनिक ३०–३५ जनाको दरले पर्यटक भित्रिरहेका

आइतबार मध्यान्हसम्म मात्र लार्केपास गर्ने २४ जना पर्यटक जगत चेकपोष्टमा इन्ट्री भइसकेको एमक्यापले जनाएको छ । न्याकफेदिबाट लार्केपाससम्मको पदमार्गमा समस्या नरहेको स्थानीयले बताए । अहिले दैनिक ४० देखि ३५ जनासम्म पर्यटक मनासलु क्षेत्र भित्रिने गरेको जगतका होटल व्यवसायी गणेश कार्कीले बताए । ‘होटलमा खान बस्नको समस्या छैन, पर्यटक आइरहनुभएको छ,’ उनले भने । तर खच्चड हिँड्ने पनि बाटो नहुँदा उपभोग्य सामाग्री ढुवानी हुन नसकेको उनले बताए । ‘मान्छे हिँडने बाटो भए पनि खच्चड आउजाउ हुन सकेको छैन, तत्काल बाटो खुलाएर दैनिक उपभोग्य सामाग्री ढुवानी सहज हुनुपर्‍यो,’ उनले भने ।

चुमभ्याली तर्फको पैदलमार्ग नियमित हुन भने अझै केहि दिन लाग्ने एमक्यापले जनाएको छ । चुमभ्याली जाने चुमुनुव्री–६ लोक्पा नजिकैको सर्दिभिरको क्यान्टिलिभर(भिर खोपर बनाएको पुल) बाढीले बगाएपछि आउजाउ ठप्प छ । काठेपुल राखेर पैदलमार्ग सञ्चालन तथा मर्मतको काम भइरहेको छ । पैदलमार्ग मर्मतपछि चुमभ्यालीतर्फ पनि पर्यटक आवागमन सहज बन्ने एमक्यापले जनाएको छ ।

 

रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय