काठमाडौं
१० कार्तिक २०८३

राजु समात
काठमाडौँ — यस वर्षको तिहारमा काठमाडौँ उपत्यकामा करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स माला गरी ५१ लाख ८० हजार माला खपत हुने अनुमान गरेको जनाएको छ । तिहारमा ४५ लाख सयपत्री फूलका र ६ लाख मखमलीका माला, २० हजार गोदावरी र ६० हजार मिक्स फूलको माला खपत हुने एसोसिएसनले जनाएको छ । एसोसिएसनले २ लाख मखमलीका माला निर्यात हुने समेत जनाएको छ ।
गत वर्षको तिहारमा ४० लाख ४० लाख थान सयपत्री र साढे ५ लाख थान मखमली माला खपत भएको थियो । तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन्
तिहारमा मात्रै ४८ करोड रुपैयाँको फूलमाला कारोबार हुने श्रेष्ठले जनाए । ‘८८.८९ प्रतिशत माग आन्तरिक उत्पादनबाट पूर्ति हुन्छ, करिब ११.११ प्रतिशत पुग्दैन,’ उनले भने , ‘खुल्ला सीमानाका भएकाले वर्सेनी लुकिछिपि अलिअलि फूलमाला आउँछ ।’
एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको प्रतिमाला औसत ९० रूपैयाँ थोक मूल्य हुने अनुमान गरिएको छ । त्यसका आधारमा ४० करोड ५० लाख रुपैयाँको सयपत्री माला खपत हुने अनुमान गरिएको छ । यस्तै मखमलीको प्रति माला ४५ रूपैयाँ पर्ने एसोसियसनले जनाएको छ । गोदाबरी फूलको प्रति माला १२ सय रूपैयाँ पर्ने अनुमान गरिएको छ । मिक्स माला थोक बजारमै प्रति माला चार सय रुपैयाँ पर्नेछ ।
एसोसिएसनले यसपटक सयपत्री तथा गोदावरी फूलको पोली तथा गमला खरिदबिक्रीको पनि अनुमानित तथ्यांक सार्वजनिक गरिएको छ ।
एसोसियसनका अनुसार ३५ लाख सयपत्री फूलका बोट खरिदबिक्री हुनेछ । जुन प्रतिबोट ३० रुपैयाँका दरले साढे १० करोड रुपैयाँको कारोबार हुने जनाएको छ । गोदावरी फूलका प्रतिगमला ७५ रूपैयाँमा कारोबार हुनेछ । कुल ८ लाख गमला खपत हुनेछ । त्यसबाट ६ करोड रूपैयाँको कारोबार हुने एसोसिएसनले जनाएको छ ।
समग्रमा फूलका माला, सयपत्री फूलका बोटसहित गोदावरीको गमला खरिदबिक्रीमा तिहारमा ६४ करोड ५० लाख रुपैयाँको कारोबार हुनेछ । ‘तिहारका लागि आवश्यक फूलको माग सकेसम्म स्वदेशमै उत्पादित फूलबाट पूर्ति गर्न समेत आग्रह गर्छौं,’ श्रेष्ठले भने ।
रासस


