काठमाडौ
६ कार्तिक २०८३

राजु सामत
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएका छन् । शुक्रबार नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले नेपाल र भारतबीचको सम्बन्ध निकै गहिरो रहेको उल्लेख गर्दै नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पुर्याउन चाहेको बताए ।
‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ । कहिलेकाहीँ समस्या आउँछन्, तर हामी एकअर्कासँग दृढ रूपमा जोडिएका छौं । नेपाल र भारतबीचको जस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशसँग नेपालको छैन,’ एनडीटीभीकी पद्मजा जोशीसँगको कुराकानीमा वाग्लेले भने ।
उनले नेपाल र भारतबीच भौगोलिक निकटता मात्रै नभई गहिरो सांस्कृतिक सम्बन्धसमेत रहेको बताए । नेपालको नयाँ नेतृत्व भारतसँगको सम्बन्ध थप बलियो बनाउन चाहेको उनको भनाइ थियो ।
नेपालमा कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर, त्यो युग अब सकिएको छ,’ वाग्लेको भनाइ थियो ।
उनले प्रधानमन्त्री वालेन्द्र शाह २०२६ को अन्त्यसम्ममा भारत भ्रमणमा जान सक्ने संकेतसमेत गरे । शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्ने उनले बताए । उनले नेपालको राष्ट्रिय हित भारतको आर्थिक प्रगतिसँग निकट रूपमा जोडिएको उल्लेख गर्दै व्यापार तथा आर्थिक सहकार्य सुदृढ हुँदा दुवै देशलाई फाइदा पुग्ने भनाइ राखे ।
प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भइसकेको छैन । यद्यपि, भ्रमणको तयारीका लागि दुवै पक्षले प्रारम्भिक काम अघि बढाइसकेका छन् । प्रधानमन्त्री शाह नोभेम्बरको अन्त्यसम्म भारत भ्रमणमा जान सक्ने बताइएको छ ।
यस वर्षको सुरुतिर नेपालमा सरकार परिवर्तन भएपछि काठमाडौं र नयाँदिल्ली नयाँ राजनीतिक नेतृत्वअन्तर्गत सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासमा छन् । वाग्लेले वर्षान्तसम्म भ्रमण हुन सक्ने संकेत गरे पनि औपचारिक मिति भने घोषणा भएको छैन ।
वाग्लेले प्राकृतिक विपद्का बेला भारतले नेपाललाई गर्दै आएको सहयोगको पनि चर्चा गरे । उनले सन् २०१५ को विनाशकारी भूकम्प र हालैको बाढीका बेला भारतले देखाएको तत्परताको स्मरण गरे ।
रासस


