मलेसियासँग कूटनीतिक संवाद जारी छ : श्रम मन्त्रालय

२०८३ कार्तिक १२, बुधबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौ 

११ कार्तिक २०८३

राजु सामत 

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियासँग कामदार छनोटसम्बन्धी विवाद समाधान गर्न निरन्तर कूटनीतिक संवाद भइरहेको जनाएको छ । आपसी संवादमार्फत यस विषयलाई यथाशीघ्र टुंग्याउने पक्षमा सरकार दृढ रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण असोज १५ देखि रोकिएको छ । स्वास्थ्य परीक्षण रोकिएपछि मलेसियाको भिसा जारी हुन सकेको छैन ।

मलेसिया रोजगारीका विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण, भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण भइरहेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्तिमार्फत मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे नेपाल सरकारले अवलम्बन गरेको श्रम नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय सन्धि–सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर काम भइरहेको जनाएको छ । मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको र आपसी संवादमार्फत नै समस्या यथाशीघ्र समाधान गर्ने पक्षमा सरकार दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान, प्रचलित कानुन र श्रम समझदारीविपरीत हुने प्रणाली वा पद्धतिले श्रमिकको दीर्घकालीन हित रक्षा गर्न नसक्ने मन्त्रालयले जनाएको छ । ‘नेपाली श्रकको हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, न्यायोचित र पारस्परिक हितमा आधारित बनाउन सरकार सचेत छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधान, कानुनी व्यवस्था र दुई देशबीच भएको श्रम समझदारीका आधारमा पारदर्शी, निष्पक्ष तथा दुवै सरकारलाई मान्य हुने कामदार छनोट तथा भर्ना प्रणाली विकास गर्न नेपाल सरकार पूर्ण रूपमा सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।

 

 

रासस:

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय