भूमिकास्थानमा १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा, अब अधिकांश स्वास्थ्य सेवा आफ्नै पालिकामै उपलब्ध हुने

२०८३ श्रावण २२, शुक्रबार
पढ्ने समय : 2 मिनेट

लुम्बिनी 

२२ साउन २०८३

राजु सामत 

अर्घाखाँची, साउन २२। भूमिकास्थान नगरपालिकाले स्थानीय नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ वडा नं. ४ चिरिचौरस्थित १५ शैयाको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। अस्पताल उद्घाटनसँगै वृक्षरोपण कार्यक्रम पनि सम्पन्न गरिएको छ।

लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको अस्पताल अब नयाँ मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा आवश्यक सेवा–सुविधासहित नियमित रूपमा सञ्चालनमा आएको हो। अस्पताल सञ्चालनसँगै नगरपालिकाभित्रका नागरिकले सामान्यदेखि मध्यम प्रकृतिका अधिकांश स्वास्थ्य सेवा आफ्नै पालिकामै प्राप्त गर्ने भएका छन्।


नगरपालिकाका अनुसार जिल्ला अस्पतालमा हुने उपचारमध्ये ठूलो हिस्सा अब यही आधारभूत अस्पतालबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ। ओपिडी (OPD) सेवा, नियमित स्वास्थ्य परीक्षण, औषधि वितरण तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू सञ्चालनमा आएसँगै सामान्य बिरामीका लागि जिल्ला अस्पतालसम्म धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृत सुरेश प्रसाद गैरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। अर्घाखाँची जिल्लाका सञ्चारकर्मीहरूको प्रतिनिधित्व गर्दै अर्घाखाँची एफएमका स्टेशन म्यानेजर गोपालप्रसाद भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्यसैगरी अस्पतालका मेडिकल अधिकृतले आफ्नो परिचयसँगै अस्पतालबाट प्रदान गरिने सेवा, आगामी योजना तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी र नगर उपप्रमुख बालकृष्ण बन्जाडेले अस्पताल सञ्चालनले स्थानीय स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको धारणा राख्नुभयो।


कार्यक्रमको अध्यक्षता तथा समापन मन्तव्य नगरप्रमुख झविलाल थापाले गर्नुभएको थियो। उहाँले अस्पताल सञ्चालन नगरपालिकाको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा आवश्यक जनशक्ति, उपकरण र सेवा थप विस्तार गर्दै नागरिकलाई अझ प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिने बताउनुभयो।
उद्घाटन समारोहसँगै आयोजित वृक्षरोपण कार्यक्रममार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा दिगो विकासप्रति नगरपालिकाको प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय