फेरि पनि बजारमा आउँला त गोरखकाली टायर

२०८३ भाद्र १, सोमबार
पढ्ने समय : 2 मिनेट

काठमाडौं 

१ भाद्र  २०८३

राजु सामत 

गोरखा — गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि सरकारी तवरबाट पटक–पटक अनुगमन र निरीक्षण भए पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । अहिले फेरि उद्योग सञ्चालनको मोडालिटीबारे अध्ययन गर्न स्थलगत निरीक्षण गरिएको छ ।

गत फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गोरखा–२ बाट निर्वाचित सांसद कविन्द्र बुर्लाकोटी तेस्रो पटक आइतबार गोरखा नगरपालिका–१३ स्थित गोरखकाली रबर उद्योगको निरीक्षणमा पुगेका छन् । नेपाल सरकारको सार्वजनिक सम्पत्ति व्यवस्थापन समितिअन्तर्गतको उपसमितिको टोलीले आइतबार उद्योगको निरीक्षण तथा अनुगमन गरेको हो ।

बुर्लाकोटी र अर्का संघीय सांसद सुशील खड्कासहित अर्थ र उद्योग मन्त्रालयका प्रतिनिधिको टोलीले बन्द उद्योगको स्थलगत निरीक्षण गरेको हो । अनुगमनमा पुगेका सांसदसहितको टोलीसमक्ष स्थानीयले उद्योग सञ्चालनको मोडालिटी स्पष्ट गरेर अघि बढ्न सुझाव दिए । ‘उद्योग चल्नु बहुत खुसीको कुरो हो, तर उद्योग चल्नका लागि के नीति लिनुभएको छ,’ गोरखा नगरपालिका–१३ का प्रताप भण्डारीले भने, ‘सरकारले चलाउने हो कि, निजीकरण कि संस्थामार्फत चल्ने स्पष्ट हुनुपर्‍यो ।’

पटक–पटक अनुगमन र निरीक्षण हुने तर उद्योग सञ्चालनबारे कुनै निर्क्यौल हुन नसकेको स्थानीयको भनाइ थियो । अहिलेको प्रविधिबाट उद्योग सञ्चालन सुरु गरेर नयाँ प्रविधिमा लैजानुपर्ने स्थानीय ईश्वर परियारले बताए । ‘अहिले यही टेक्नोलोजीमा चलाएर नयाँ टेक्नोलोजीमा जान उपयुक्त हुन्छ,’ उनले भने, ‘उद्योग चले अब आउँदो पुस्ताले काम गर्न, जागिर खान पाउँछन्, उद्योग चल्दा हाम्रो एक मुठी साग, एक माना दूध बिक्री गर्न सहज हुन्छ, बजार चलायमान होला, उद्योग चल्नु खुसीको कुरा हो, कसरी अघि बढ्ने चाँडो निर्क्यौल हुनुपर्‍यो।’

नेपाल सरकारको सार्वजनिक सम्पत्ति व्यवस्थापन समितिमार्फत देशभरका ३८ वटा सार्वजनिक संस्थानको अध्ययन भइरहेको उपसमितिका संयोजक तथा सांसद सुशील खड्काले बताए । चल्दाचल्दै बन्द अवस्थामा रहेको गोरखकाली टायरलाई पहिलो प्राथमिकतामा राखेर पुनः सञ्चालनको मोडलबारे अध्ययन भइरहेको उनले बताए । ‘पुनः सञ्चालनको मोडालिटी निकाल्नका लागि सरकारी संयन्त्रबाट स्थलगत रिपोर्ट आउनुपर्छ भनेर अनुगमनमा आएका हौं,’ उनले भने, ‘यसलाई सञ्चालनमा ल्याउन नसक्ने भन्ने छैन, डीडीए रिपोर्टले पनि यो सञ्चालन गर्न सकिन्छ भन्ने नै छ ।’

अब चुस्त मोडलमा उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको उनले बताए । ‘गोरखकाली टायर राष्ट्रको गौरवको प्रोजेक्ट हो, आयो गोरखकाली टायर भन्दै, सुन्दै हुर्किएका हौं, फेरि सुन्न पाउँ भन्ने सबैको तीव्र चाहना छ,’ उनले भने ।

चल्दै गरेको अवस्थामा उद्योग बन्द हुँदा संरचनाहरू लथालिंग बन्दै गएको प्रतिनिधिसभा सदस्य बुर्लाकोटीले बताए । ‘कुन मितिमा सञ्चालन हुने भन्ने जस्ता प्रश्न आउँछन्, यकिन मिति भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘केही महिनाभित्रै कुन मोडालिटीमा सञ्चालन गर्न सकिन्छ भन्ने चाहिँ टुंगो लाग्छ ।’

बन्द अवस्थाको उद्योगका भवनमा झार पलाएको र जीर्ण बन्दै गएको भन्दै तत्काल सरसफाइ र मर्मतको काममा ध्यान दिने उनले बताए । ‘चल्दाचल्दैको अवस्थामा उद्योग बन्द भएकाले गाडी, मेसिनहरू यथावत् स्थितिमा सडेर बसेका छन्, १०–१२ वर्षदेखि उद्योग बन्द हुँदा भवनहरूमा बिरुवा उम्रिएका छन्, लेउ लागेको छ, सिसाहरू फुटेका छन्,’ उनले भने, ‘यसको मर्मतको काम तत्काल गरौं, अर्को टिम आउँदा यही अवस्थामा उद्योग नहोस् ।’

 

 

:रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय