काठमाडौं
५ असोज २०८३

राजु सामत
काठमाडौँ — भोटेकोशी-बाढी प्रभावितहरूलाई सहयोग पुर्याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत उबरले बाढी प्रभावितका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैययाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, ‘राइड फर नेपाल’ अभियानमार्फत हरेक उबर बाइक यात्राबापत १० रुपैयाँ र उबर क्याब यात्राबापत २० रुपैयाँ कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने जनाएको छ ।
‘यसको अर्थ, उबरमार्फत जति धेरै यात्रा सम्पन्न हुन्छन्, बाढी प्रभावित समुदायका लागि हुने कुल योगदान पनि त्यति नै बढ्दै जानेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अभियानले दैनिक यात्रालाई विपद् प्रभावित समुदायको राहत तथा पुनर्निर्माण प्रयाससँग जोड्ने उद्देश्य राखेको छ । यात्रुले उबरमार्फत राइड बुक गर्दा र चालकले उक्त यात्रा स्वीकार तथा पूरा गर्दा प्रत्येक सम्पन्न यात्रासँगै उबरको तर्फबाट राहत कोषमा थप योगदान जोडिनेछ ।’
यस अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा वा चालकले प्राप्त गर्ने रकममा कुनै परिवर्तन नहुने र अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ । यात्रुले साबिकअनुसारकै भाडा तिर्नेछन् र चालकले पनि साबिकअनुसारकै रकम प्राप्त गर्नेछन् । प्रत्येक यात्राबापतको १० वा २० रुपैयाँको योगदान उबरले आफ्नो तर्फबाट प्रदान गर्ने जनाएको छ ।
उबर इन्डिया तथा दक्षिण एसियाकी अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहका अनुसार नेपालको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक प्रयास आवश्यक छ । उबरको नेपालका लागि रणनीतिक साझेदार ट्याक्सीमान्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले राइड फर नेपाल अभियानमा यात्रु र चालक दुवैको सक्रिय सहभागिता महत्त्वपूर्ण हुने बताएका छन् ।

