काठमाडौं
०७ असोज २०७७

राजु सामत
पोखरा — पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको हो ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान करिब ४ घण्टा ३० मिनेटपछि साँझ पोखरा अवतरण गरेको हो । विमान पोखरा आएपछि विमानस्थलमा पानीको फोहरासहित परम्परागत रूपमा स्वागत गरिएको थियो । उडानमा १ सय १३ यात्रु आएका छन् भने फर्किँदा १ सय ५३ जना लिएर साँझ ७:१५ मा फर्किने छ । पहिलो उडानबाट पोखरा आएका यात्रुलाई पोखरा पर्यटन परिषद्को अगुवामा खादा, माला तथा उपहारसहित स्वागत गरिएको छ । दुबई जानेलाई बिदाइ गरिएको छ ।
फ्लाई दुबईको पोखरा उडान सुरु भएसँगै अब पोखराबाट दुबईका लागि दैनिक नियमित उडान हुनेछ । विमान पोखराबाट यात्रु लिएर त्यही राति दुबई फर्किनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराबाट सुरु भएको पहिलो नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानले पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सुरुआत गरेको बताए ।
‘हामी लामो समयदेखि पोखराबाट सुरु हुने पहिलो नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा थियौं । अब हरेक दिन पोखरा–दुबई उडान हुने भएकाले यसले पोखराको पर्यटन तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क बिस्तारमा महत्त्वपूर्ण योगदान गर्नेछ,’ उनले भने ।
फ्लाई दुबईको पोखरा उडान सुरु भएपछि स्थानीय पर्यटन व्यवसायीले यात्रुलाई लक्षित गर्दै विभिन्न छुट तथा सुविधा पनि घोषणा गरेका छन् । होटल संघ पोखराले पहिलो उडानबाट दुबईबाट आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क दिने घोषणा गरेको छ । बोर्डिङ पास देखाउने यात्रुलाई होटलमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
रासस

