रंगमञ्चको ऐनामा सुदूरपश्चिमको अनुहार नाटक ‘श्री बिज्जो भूत’मा गीत, नृत्य, लबज,

२०८३ आश्विन १०, शनिबार
पढ्ने समय : 2 मिनेट

काठमाडौं 

१० असोज २०८३

राजु सामत

काठमाडौँ — सुदूरपश्चिमको कथा सुन्दा कानमा प्रायः पलायन र पीडाका सुस्केरा पर्छन् । नाटक ‘श्री बिज्जो भूत’ले भने त्यही सुस्केराभित्र लुकेको गीत, संस्कृति, लोकविश्वास र मानवीय संवेदनालाई रंगमञ्चमा उतारेको छ ।

२०५० को दशकको सुदूरपश्चिमेली समाज र परदेशिएका प्रियजनको पर्खाइमा बाँचेका महिलाको कथालाई नाटकले हास्य र करुणाको मिश्रित शैलीमा प्रस्तुत गरेको छ।

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा बुद्धि तामाङ र आकाश नेपाली निर्देशित नाटक ‘श्री बिज्जो भूत’ हेरेपछि आफैंभित्र लामो समयदेखि जन्मिरहेको प्रश्नले सानदार जवाफ भेट्यो– अद्भुत।

विशन नाथको लेखन रहेको नाटकले २०५० को दशकको कथा भन्छ । गीत र मौलिक नाचहरूले कथावाचनलाई सुन्दर आकार र लय दिन्छन्। नाटकको सुरुवाती भागमा महिला पात्रले गाउने वियोगान्त लोकगीतले कथाको मूल भावलाई पकड्छ–

फर्कि आइजान्या हो
परदेश जान्या परदेशीले
सँगै लैजान्या हो
बाली बैस बौला झल्का

सुदूरपश्चिममा तत्कालीन समयमा नेपालबाट रोजगारीका लागि युवाहरू भारतका विभिन्न सहर पलायन हुन्थे। लामो समयसम्म पनि घर नफर्किएका लाहुरे र परदेशीलाई सम्झेर जीवन काटेका महिलाहरूको प्रतीक्षा अन्तहीन हुन्छ। तर, फर्किएका र नफर्किएका पुरुषहरूले पर्खिनेहरूको भावनालाई सम्मान गरेका छन् त ?

उदांगो आँखाले देखेको कुरा मात्रै सत्य मान्ने समाजले नदेखिएका पीडा र भावना कहिल्यै पर्गेल्ने प्रयास गरेन। रामायणका पौराणिक पात्र रामचन्द्रले सीताको अग्निपरीक्षा लिएजस्तै आफ्नो उमेरजत्तिकै लामो पर्खाइ बाँचेका महिलामाथि पुरुषहरूले गर्ने सन्देहलाई नाटकले ठूलो प्रश्न गरेको छ।

नाटकमा जबजब पात्रहरूले गीत गाउँछन्, कथाले हिँडेको बाटोलाई त्यसबाटै महसुस गर्न सकिन्छ। त्यसकारण नाटकमा संगीत भर्ने सौरभ चालिसे, जीवन राई र हरिना नाथ तारिफयोग्य पात्र हुन्।

नाटकको कथालाई सारमा बुझ्दा सरल छ। गौरी र उनकी आमा धेरै वर्षदेखि बाको पर्खाइमा छन्। भारत भासिएका बा घर फर्किएका छैनन्। गाउँमा बाबारे अनेकन आकलन छन्। एक दिन मुम्बईवाला युवक आएर गौरीलाई बा भेटाइदिने वाचा गर्छन् र मुम्बई लैजाने प्रस्ताव राख्छन्। प्रेमीसमेत पर्खिरहेकी गौरी बा र लाहुरे साथीलाई भेट्ने चाहनामा मुम्बई भागेर जान तयार हुन्छिन्। के उनी मुम्बई पुग्लिन् त? यही यात्राको बाँकी संघर्षले नै नाटक रोचक बन्दै जान्छ।

नाटक कारुणिक विषयवस्तुमाथि भए पनि प्रस्तुति भने हास्यशैलीमा छ। नाटकमा परिस्थिति यसरी विकास हुन्छ कि पात्रहरूले जे गरे पनि स्वाभाविक हाँसो छुट्न थाल्छ।

नाटकको शीर्षक ‘श्री बिज्जो भूत’ले तत्कालीन सुदूरपश्चिमेली समाजको परम्परा र जनविश्वास दर्शाउँछ। डडेलधुराको निङ्लाइ गाउँको जनमानसमा एउटा विश्वास रहेछ– श्री बिज्जो भूत (दा)को क्षेत्रमा गलत काम गरेर कोही पनि उम्कन सक्दैन ।

रासस:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय