काठमाडौं
११ असोज २०८३

राजु सामत
बेइजिङ — वासिङ्टन शिखर सम्मेलनपछि चीनले दुई वटा विशाल पाण्डा अमेरिकातर्फ पठाएको छ। सांकेतिक रूपमा अर्थपूर्ण मानिएको उक्त उच्चस्तरीय भेटवार्तामा कुनै ठूलो राजनीतिक सहमति भएन।
तर, गत अप्रिलमै भएको पाण्डा हस्तान्तरण सम्झौता भने कार्यान्वयनमा आयो। वासिङ्टनमै छँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले गत बिहीबार दुईवटा पाण्डा छिट्टै नै अमेरिका आउने घोषणा गरेका थिए। उनले यी पाण्डा दुई देशबीचको मित्रताको प्रतीक रहेको बताएका थिए।
प्रस्थान गरेका दुवै पाण्डा सन् २०२० मा छेन्दूमा जन्मिएका हुन्। पिङ पिङ नामका भाले पाण्डा ६ वर्ष पूरा भइसकेका छन् भने पोथी पाण्डा फु सुआङले अर्को महिना ६ वर्ष पूरा गर्दैछिन्। उनीहरूको प्रस्थानअघि छेन्दु रिसर्च बेस अफ जाइन्ट पाण्डा ब्रिडिङमा एक भव्य बिदाइ समारोह आयोजना गरिएको थियो।
यी पाण्डाहरू जर्जिया राज्यको एटलान्टास्थित चिडियाखानामा जाँदैछन्, जहाँ उनीहरूले आगामी १० वर्ष बिताउनेछन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, दुई पाण्डा आइतबार बिहान करिब ३ बजे छेन्दू सुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानमार्फत अमेरिकातर्फ उडेका हुन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार १५ घण्टा लामो उडानका क्रममा पाण्डाहरूलाई भोकै नराख्न बाफमा पकाइएको मकैको पाउरोटी, बाँसका मुना र गाजरहरूको पर्याप्त व्यवस्था गरिएको छ। उडानका दौरान पाण्डाहरूको रेखदेख गर्न अमेरिकी पक्षबाट अनुभवी किपरहरूलाई समेत खटाइएको ग्लोबल टाइम्सले जनाएको छ।
पाण्डाहरूको स्वागतको पूर्वतयारीस्वरूप एटलान्टा चिडियाखानाले आफ्ना पाण्डा आकर्षण स्थलहरूको मर्मतसम्भार गर्नुका साथै पशु हेरचाहकर्ताहरूको एक विशेष टोली तयार पारेको छ। यसका साथै, छेन्दुसँग मिल्दोजुल्दो हावापानी भएको एटलान्टामा नै स्थानीय रूपमा उम्रिने ताजा बाँसको नियमित आपूर्तिको व्यवस्था पनि मिलाइएको छ।
यसअघि एटलान्टा चिडियाखानामा १९९९ देखि लगातार २५ वर्षसम्म चीनबाट ल्याइएका पाण्डाहरू राखिएको थियो। तर, ऋण सम्झौता अवधि समाप्त भएपछि २०२४ अक्टोबरमा लुन लुन र याङ याङलाई आफ्ना बच्चाहरूसँग सुरक्षित रूपमा चीन फर्काइयो। त्यसयता, यस चिडियाखाना पाण्डाविहीन थियो।
बेइजिङको कूटनीतिक सद्भावनाको ‘सफ्ट–पावर’ दूतको रूपमा यी जीवहरूलाई दशकौंदेखि विश्वका विभिन्न देशहरूमा पठाइँदै आएको छ। अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमणको लगत्तै सन् १९७२ मा चीनले वासिङ्टनलाई पहिलो पटक जोडी पाण्डा उपहारस्वरूप प्रदान गरेको थियो।
विश्वभर अत्यधिक लोकप्रिय यी काला र सेतो रङका स्तनधारी प्राणीहरूलाई चीनले विदेशी सम्बन्ध सुदृढ पार्ने पाण्डा कूटनीति कार्यक्रमअन्तर्गत विश्वका विभिन्न देशहरूमा पठाउने गर्दछ।
चीनले प्रायः निश्चित अवधिको सम्झौता गरेर पाण्डालाई विदेशमा पठाउने गर्छ। सम्झौता अवधि पूरा भएपछि ती पाण्डालाई सुरक्षित रूपमा स्वदेश फर्काइन्छ। आफ्ना पाण्डा कार्यक्रमअन्तर्गत चीनले दिएका सबै पाण्डा तथा त्यसबाट जन्मने सन्तान चीनकै स्वामित्वमा रहन्छन्।
कहिलेकाहीँ सम्बन्ध बिग्रँदा चीनले आफ्ना पाण्डालाई फिर्ता ल्याउने गर्छ। गत जनवरीमा जापानले चीनलाई जुम्ल्याहा पाण्डा सियो सियो र लेइ लेइ फिर्ता गर्नुपरेको थियो। जापानकी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरेमा जापानले प्रत्याक्रमण गर्न सक्ने संकेत गरेकी थिइन्। यसपछि चीनले आफ्ना पाण्डा फिर्ता मागेको थियो।
यी पाण्डा सन् २०११ मा चीनले हस्तान्तरण गरेका री री र सिन सिन नामक दुई वयस्क पाण्डाका जुम्ल्याहा सन्तान थिए, जसको जन्म जापानको युनो चिडियाखानामा सन् २०२१ मा भएको थियो। अहिले जापानको उक्त चिडियाखाना पाण्डाविहीन छ।

