सन्धिखर्कमा कानुनी जागरुकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम सम्पन्न

२०८३ आश्विन ४, आईतवार
पढ्ने समय : 2 मिनेट

लुम्बिनी 

०४ असोज २०८३

राजु सामत 

अर्घाखाँची — युवा सरोकार महासंघको आयोजनामा सन्धिखर्कमा नागरिकका संवैधानिक तथा कानुनी अधिकारबारे जानकारी गराउने उद्देश्यले कानुनी जागरुकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नागरिकले संविधान तथा प्रचलित कानुनले प्रदान गरेका आफ्ना हक–अधिकारबारे जानकारी लिनुपर्ने, अधिकारको संरक्षण तथा सुनिश्चितताका लागि आवश्यक कानुनी प्रक्रियाबारे सचेत हुनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा दिवस बहादुर जिसी, जिल्ला प्रशासन कार्यालयका प्रधान नायब निरीक्षक, विशिष्ट अतिथिका रूपमा प्रमोद खनाल, सन्धिखर्क नगरपालिकाका प्रशासन प्रमुख तथा अतिथिका रूपमा सहायक न्यायवक्ता विष्णुहरि मरासिनी, जिल्ला बाल संरक्षण समितिका रामचन्द्र पोखरेल, वडा सदस्य तारा चौहान लगायतको आतिथ्यता रहेको थियो।

 

कार्यक्रममा सहभागीहरूलाई आफ्ना संवैधानिक तथा कानुनी अधिकारका विषयमा जानकारी गराउँदै अधिकार प्राप्तिका लागि सम्बन्धित निकायमा पुग्नुपर्ने र कुनै पनि किसिमको अन्याय, विभेद वा हिंसा सहेर बस्न नहुने बताइएको थियो।
वक्ताहरूले पछिल्लो समय समाजमा छुवाछुत, महिनावारीसम्बन्धी विभेद लगायतका सामाजिक कुरीतिमा विगतको तुलनामा परिवर्तन आएको उल्लेख गर्दै अझै पनि यस्ता विभेद पूर्ण रूपमा अन्त्य हुन नसकेकाले निरन्तर सचेतना र सामाजिक अभियान आवश्यक रहेको बताएका थिए।


त्यस्तै, घरेलु हिंसा, भेदभाव, गालीगलौज तथा अन्य हिंसात्मक व्यवहारबाट टाढा रहन र यस्ता घटना भएमा कानुनी उपचार खोज्न सहभागीहरूलाई आग्रह गरिएको थियो। आफ्नो अधिकारमाथि अन्याय भएको अवस्थामा चुप लागेर बस्नुभन्दा सम्बन्धित प्रहरी कार्यालय, अदालत तथा अन्य कानुनी निकायमा जानकारी गराउनुपर्नेमा समेत जोड दिइएको थियो।
कार्यक्रममा अर्घाखाँचीमा आत्महत्याका घटनालाई न्यूनीकरण गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको विषयमा समेत चर्चा गरिएको थियो। मानिसले भोगिरहेका समस्या सानो वा ठूलो जे भए पनि समयमै परिवार, साथीभाइ, प्रहरी वा सम्बन्धित निकायसँग जानकारी तथा सहयोग लिनुपर्ने बताइएको थियो।
वक्ताहरूले आत्महत्या रोकथामका लागि समुदायस्तरमै सचेतना फैलाउनुपर्ने, समस्यामा परेका व्यक्तिलाई एक्लो महसुस हुन नदिने तथा आवश्यक सहयोग र परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा महिला सशक्तीकरण, सामाजिक न्याय, समानता तथा समतामूलक समाज निर्माणमा सबैको साझा दायित्व रहेको बताइएको थियो। महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समुदायका अधिकारको संरक्षणका लागि राज्यका निकायसँगै नागरिक समाज र समुदायको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो।
घुम्ती क्लिनिकमार्फत स्थानीय नागरिकलाई कानुनी विषयमा प्रत्यक्ष जानकारी तथा परामर्श उपलब्ध गराउँदै कानुनबारे सचेत नागरिक निर्माण र न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रमले नागरिकलाई आफ्ना अधिकारबारे जानकारी लिन, अधिकारको प्रयोग गर्न तथा अन्याय वा हिंसाको अवस्थामा कानुनी उपचारका लागि सम्बन्धित निकायसम्म पुग्न थप प्रेरित गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय