हिमलुङ हिमपहिरो : कठिनाइपछि खोजी रोकियो, हिउँ पग्लिएपछि पुनः अभियान चलाइने

२०८३ आश्विन १२, सोमबार
पढ्ने समय : 2 मिनेट

काठमाडौ 

१२ असोज २०८३

राजु सामत 

काठमाडौँ — मनाङको हिमलुङ हिमालमा आइतबार बिहान गएको हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार अभियान हिमपहिरोको बाक्लो हिउँ र प्रतिकूल अवस्थाका कारण रोकिएको छ । काठमाडौंलगायत विभिन्न ठाउँबाट परिचालित उद्धार टोलीले सोमबार खोजी अभियान स्थगित गरी फर्किएको हो ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजीए) को टोलीको नेतृत्व गरेका इम्याजिन नेपालका सञ्चालक तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड मिङ्मा जी शेर्पासहित आठ जना उद्धारकर्मी सोमबार मनाङको चामेबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा आइपुगेका छन् । उनीहरू सोमबार साँझै हवाइजहाजबाट काठमाडौं फर्किँदै छन् ।

मिङ्मा जीका अनुसार हिमपहिरोले घटनास्थलमा रहेका टेन्टहरू करिब १४ फिटसम्म हिउँले पुरिएका छन् । अत्यधिक हिउँका कारण तत्काल खोजी गर्न कठिन भएपछि अभियान रोकिएको उनले बताए । ‘टेन्टहरू नै १४ फिटसम्म हिउँले पुरिएका छन् । अहिले स्नोका कारण खोजी गर्न निकै कठिन छ । हिउँ पग्लिएपछि फेरि खोजी अभियान सुरु गर्छौं,’ उनले पोखराबाट कान्तिपुरसँग भने ।

उद्धार टोलीमा मिङ्मा जीसहित पासाङ काजी शेर्पा, पेम्बा तेन्जिङ भोटे, आशिष गुरुङ, छिरिङ पेम्बा शेर्पा, विक्रम कार्की, डन्डु शेर्पा र पासाङ रिन्जी शेर्पालगायत परिचालित थिए ।

प्रभु हेलिकोप्टरका पाइलट क्याप्टेन पासाङ नोर्बु शेर्पाका अनुसार हिमलुङ आधार शिविरबाट उद्धारकर्मीलाई चामेसम्म प्रभु हेलिकोप्टरले तीन खेपमा ल्याएको थियो । ‘आधार शिविरमा हिउँ धेरै भएकाले उद्धार तथा खोजीको काम चुनौतीपूर्ण भयो । मौसम र भूगोलअनुसार हेलिकोप्टर सञ्चालन गरेर उद्धार टोलीलाई चामेसम्म ल्याएका हौं,’ उनले भने । उद्धार अभियानमा प्रभु र कैलाश एयरका हेलिकोप्टर परिचालन भएका थिए । चार उद्धारकर्मी भने मंगलबार मात्रै चामेबाट काठमाडौं फर्कने तयारीमा छन् । उनीहरू प्रभु हेलिकोप्टरको समन्वयमा त्यहाँ रोकिएका छन् ।

हिमलुङको आधार शिविर करिब ४ हजार ७ सय मिटर उचाइमा छ । घटनास्थलबाट सबैभन्दा नजिक पर्ने फु गाउँमा सोमबार उद्धारकर्मीहरू आएर बसेका थिए । सोमबार दिउँसो फु गाउँबाट घटनास्थल पुगेका चार उद्धारकर्मीले खोजी गर्दा दुई जनाको शव फेला पारेको थियो । यसअघि आइतबार छिवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो । ती दुई शव कैलाश एयरको हेलिकोप्टरले सोमबार चामे हुँदै काठमाडौं ल्याएको थियो । सोमबार उद्धार टोलीले थप दुई शव वीरेन्द्र गुरुङ र घनश्याम राईको फेला पारेको थियो । ती शव आवश्यक सरकारी कानुनी प्रक्रिया पूरा गरी मंगलबार चामेबाट काठमाडौं ल्याउने तयारी छ ।

यी चारै जना लाजिम्पाटस्थित हिमालयन होलिडेज नेपालका कर्मचारी हुन् । हिमपहिरोमा परी कम्पनीका १४ जना कर्मचारी बेपत्ता भएका थिए । ७ जना भने सम्पर्कमा आएको र बेपत्तामध्ये चार जनाको शव फेला परिसकेको छ भने बाँकी १० जनाको खोजी जारी छ । हिमालयन होलिडेजले चार्टर गरेको कैलाश एयरको हेलिकोप्टरले आइतबार काठमाडौंबाट तीन जना उद्धारकर्मीलाई पनि हिमलुङ पुर्‍याएको थियो । सोही हेलिकोप्टरले सोमबार दुई शव काठमाडौं ल्याएको हो । बाँकी दुई शव मंगलबार चामेबाट आवश्यक कागजातसहित काठमाडौं ल्याउने तयारी छ । त्यस्तै, इम्याजिन नेपालका छ जना किचन ब्वाई तथा टेन्ट निर्माणमा खटिएका कर्मचारी हिमलुङ आधार शिविरमा परिचालित थिए । तीमध्ये दुई जना अझै सम्पर्कविहीन छन् ।

  1. दुवै कम्पनीका सञ्चालकका अनुसार आगामी शरद् यामको हिमलुङ आरोहणका लागि जाने करिब २२ जना विदेशी आरोहीका लागि आधार शिविरमा टेन्ट गाड्ने र आवश्यक बन्दोबस्ती मिलाउन कर्मचारीहरू करिब दुई साताअघि नै काठमाडौंबाट मनाङ पुगेका थिए । हिमलुङमा आइतबार बिहान टेन्टमा सुतिरहेको अवस्थामा हिमपहिरो आएको बताइएको छ । अत्यधिक हिउँले टेन्ट तथा आसपासको क्षेत्र पुरिएपछि बेपत्ताको खोजी तत्काल अघि बढाउन कठिन भएको उद्धार टोलीले जनाएको छ । अब हिउँ केही पग्लिएपछि पुनः खोजी अभियान सञ्चालन गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय