धमाधम मल भित्रिन थालेपछि वीरगन्जमा गोदाम भरिए

२०८३ आश्विन १३, मंगलवार
पढ्ने समय : 2 मिनेट

काठमाडौ 

१३ असोज २०८३ 

राजु सामत 

पर्सा — भारतबाट सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगन्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जलाई मल भण्डारण गर्न समस्या भएको छ । पछिल्लो तीन सातायता ठूलो परिमाणमा युरिया र डिएपी मल भित्रिएपछि कम्पनीका वीरगन्जस्थित सबै गोदाम भरिएका छन् ।

गोदाम भरिएपछि कम्पनीले गण्डक नहर पश्चिमतर्फ एउटा गोदाम भाडामा लिएर मल भण्डारण गर्न थालेको छ। कार्यालयका निमित्त प्रमुख दिनेश शर्माका अनुसार कम्पनीको वीरगन्जस्थित आफ्नै कार्यालय परिसरको गोदाम, भुटनदेवीस्थित गोदाम र नेसनल ट्रेडिङको गोदाम भाडामा लिएर मल भण्डारण हुँदै आएको छ ।

‘हाम्रा सबै गोदाम भरिइसकेका छन् । थप मल पनि निरन्तर आइरहेकाले गण्डक नहर पश्चिम एउटा गोदाम भाडामा लिएर भण्डारणको व्यवस्था गरेका छौं,’ शर्माले भने ।

सरकारले जिटुजी प्रक्रियामार्फत भारतबाट ३० हजार टन युरिया मल खरिद गरेको छ । त्यसमध्ये २ हजार ६ सय ५४ टन युरिया वीरगन्जस्थित कृषि सामग्री कम्पनीका गोदाममा भित्रिसकेको छ । कुल ३० हजार टनमध्ये ११ हजार ५ सय टन युरिया वीरगन्ज प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ ।

बाँकी युरिया भैरहवा र विराटनगर प्रादेशिक कार्यालयका लागि हो । भैरहवा कार्यालयका लागि छुट्याइएको मलसमेत वीरगन्ज नाकाबाटै नेपाल भित्र्याइँदै छ । वीरगन्ज नाकाबाट भित्रिएको मल सम्बन्धित प्रादेशिक कार्यालयमा पठाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, जिटुजी प्रक्रियामार्फत भारतबाट २० हजार टन डिएपी खरिद गरिएको छ । त्यसमध्ये हालसम्म ४ हजार ९ सय ७७ टन वीरगन्जमा भण्डारण भइसकेको शर्माले बताए । कुल डिएपीमध्ये ७ हजार ६ सय टन वीरगन्ज प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ । बाँकी डिएपी भैरहवा र विराटनगर प्रादेशिक कार्यालयका लागि हो ।

जिटुजी प्रक्रियाबाट भित्रिएको मलसहित कम्पनीका वीरगन्जस्थित गोदाममा हाल १५ हजार ७ सय टन युरिया, ८ हजार ९ सय ६४ टन डिएपी र ३ हजार ४ सय ७१ टन पोटास मौज्दात रहेको छ । हाल मौज्दात रहेको तथा थप भित्रिने मल आगामी हिउँदे बालीका लागि वितरण गरिने कम्पनीले जनाएको छ । विशेषगरी गहुँ र तेलहन बालीका लागि मल आवश्यक पर्ने भएकाले अहिले आएको मल त्यसैअनुसार वितरण गरिने शर्माले बताए । धान बालीका लागि भने अहिले युरिया र डिएपीको माग नरहेको उनको भनाइ छ ।

यता वीरगन्ज नाकाबाट थप परिमाणमा मल भित्र्याउने तयारी भइरहेकाले भण्डारणको समस्या अझ बढ्ने देखिएको छ । कम्पनीले ग्लोबल टेन्डरमार्फत थप ३० हजार टन युरिया र ३० हजार टन डिएपी खरिद गरेको छ । यी दुई छुट्टाछुट्टै कन्साइनमेन्ट केही दिनमै नेपाल भित्रिन थाल्ने कम्पनीले जनाएको छ ।

वीरगन्ज नाका नेपालमा रासायनिक मल आयात हुने प्रमुख नाका हो । भारतबाट आउने मलको ठूलो हिस्सा यही नाकाबाट नेपाल भित्रिन्छ । वीरगन्जबाट भित्रिएको मल मधेश प्रदेशका साथै अन्य प्रदेशका लागि समेत आपूर्ति हुँदै आएको छ ।

मलको मागअनुसार आपूर्ति सुनिश्चित गर्न आयात बढाइए पनि त्यसअनुसारको भण्डारण पूर्वाधार पर्याप्त नहुँदा अहिले वीरगन्जमा मल व्यवस्थापन चुनौती बनेको हो । थप ६० हजार टन मल भित्रिन थालेपछि तत्काल वैकल्पिक भण्डारणको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको शर्मा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय