काठमाडौ
१५ असोज २०८३

राजु सामत
लमजुङ — मनाङको नार्पाभूमिको हिमलुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन भएकामध्ये थप ८ जनाको शव बिहीबार भेटिएको छ ।
यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । हिमपहिरोमा पुरिएका अझै एक जना अझै सम्पर्कविहीन छन् ।
बिहीबार भेटिएका ८ शवमध्ये ६ वटा फु गाउँमा र २ वटा शव सदरमुकाम चामे ल्याइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै शवको हेलिकोप्टरमार्फत ल्याइएको हो । उनका अनुसार आवश्यक कानुनी प्रक्रियाको लागि काम भइरहेको छ ।
सम्पर्कविहीन एक जना हिमालयन होलिडेजका हुन् । उनको खोजी भइरहेको प्रशासनले जनाएको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले बिहीबार हिमलुङ आधार शिविर क्षेत्रमा खोजी गर्ने क्रममा ८ शव फेला पारेको हो । उद्धार टोलीका संयोजक एवम् अन्तर्राष्ट्रिय पर्वतीय महासंघ (आईएफएमजीए) का माउन्टेन गाइड पासाङ काजी शेर्पाले कठिन परिस्थितिका बीच शव निकाल्न सफल भएको बताएका छन् ।
यसअघि बुधबार ३, सोमबार २ र आइतबार २ जनाको शव भेटिएको थियो । बुधबार भेटिएका गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढा हुन् । सोमबार गोरखाका वीरेन्द्र गुरुङ र खोटाङका घनश्याम राईको शव भेटिएको थियो । आइतबार संखुवासभाका छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।
हिमलुङमा असोज १० गते शनिबार राति हिमपहिरो गएको थियो । हिमपहिरोपछि आधार शिविरमा रहेका आरोहण टोलीका सदस्य साथै सहयोगी सम्पर्कविहीन भएका थिए । १६ जना सम्पर्कविहीन रहेकोमा खोजीका क्रममा बिहीबारसम्म १५ जनाको शव भेटिएको हो । अब एक जना मात्र सम्पर्कविहीन छन् ।
खोजी तथा उद्धारका लागि एनएनएमजीएले अनुभवी पर्वतीय गाइडको टोली परिचालन गरेको छ । पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा टोलीले हिमलुङ क्षेत्रमा खोजी गरिरहेको छ । हिमालको कठिन भौगोलिक अवस्था र मौसमका बीच टोलीले खोजी तथा उद्धारलाई निरन्तरता दिएको छ
रासस

