लुम्बिनी
२४ असोज २०८३

राजु सामत
अर्घाखाँची। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको स्वर्गीय रमादेवी स्मृति कप टी–टेन क्रिकेट प्रतियोगिताबारे पत्रकार सम्मेलन सम्पन्न भएको छ। पत्रकार सम्मेलन साथी होटलमा आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता राज खत्रीले गर्नुभएको थियो भने प्रमुख अतिथि कुलबहादुर क्षेत्रीले कपको अनावरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
पत्रकार सम्मेलनको सुरुवात राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोटमा पर्न सफल आयुषा भुसाललाई क्रिकेट किट ब्याग हस्तान्तरण गरेर गरिएको थियो। कार्यक्रममा बोल्दै भुसालले आफ्नो क्रिकेट यात्रामा क्रिकेट सङ्घ अर्घाखाँची र परिवारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायणले प्रतियोगिता ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस प्रतियोगिताले अर्घाखाँचीका बालबालिका तथा नयाँ पुस्तालाई क्रिकेट सिक्ने र आफ्नो प्रतिभा विकास गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। साथै, प्रतियोगितालाई निरन्तरता दिएर खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै स्वर्गीय रमादेवीको परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला क्रिकेट सङ्घ अर्घाखाँचीका अध्यक्ष ऋषिकेश भुसालले जिल्लामा क्रिकेटको इतिहास र विकासबारे चर्चा गर्नुभयो। उहाँका अनुसार अर्घाखाँचीमा क्रिकेटको सुरुवात वि.सं. २०६० सालदेखि भएको थियो। बीचको समयमा सुस्ताएको क्रिकेट गतिविधि करिब छ वर्षपछि पुनः सञ्चालनमा आउनु गर्वको विषय भएको उहाँले बताउनुभयो।
पुराना खेलाडीहरू सक्रिय नरहे पनि नयाँ खेलाडी उत्पादन तथा उनीहरूको क्षमता विकासमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो। अर्घाखाँचीमा टेनिस बलबाट सुरु भएको क्रिकेट खेल अहिले विकसित हुँदै गएको उहाँको भनाइ थियो।
अध्यक्ष भुसालले प्रतियोगितामा १६ टोलीको सहभागिता रहने जानकारी दिँदै प्रतियोगिताका नियमसमेत सार्वजनिक गर्नुभयो। साथै, महिला क्रिकेटतर्फ आयुषा भुसालले हासिल गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै उहाँको आगामी यात्राका लागि शुभकामना दिनुभयो।
पत्रकार सम्मेलनको आयोजना शोभाकर खत्री र सरोज खत्रीले गर्नुभएको थियो। कार्यक्रममा अतिथिका रूपमा श्याम घिमिरे, रुद्रमणि भुसाल, नवीन केसी, सुमन केसी, गुरुदेव खनाल, पाण्डव भट्टराईलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन विक्रम नेपालीले गर्नुभएको थियो। कार्यक्रमको समापन अध्यक्ष राज खत्रीले गर्नुभएको थियो।


