काठमाडौंमा
२६ असोज २०८३

राजु सामत
काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालले दसैं, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।
असोज २२ देखि लागू योजनाअन्तर्गत २८ हजार १२६ जनशक्ति परिचालन गरिएको छ भने थप ४ हजार ५०० जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
सुरक्षाका लागि देशभर १४१ नागरिक सहायता कक्ष, १६ स्वास्थ्य सहायता कक्ष र १३ पर्यटक सहायता कक्ष स्थापना गरिएको छ । मुख्य राजमार्गमा उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको टोली तथा १६ स्थानमा ठूलो संख्यामा घाइतेको उद्धार गर्न सक्ने सवारीसाधन तैनाथ गरिएको छ ।
त्यस्तै, सीमा सुरक्षाका लागि संयुक्त गस्ती, चेक प्वाइन्ट र पैदल तथा मोबाइल गस्ती बढाइएको छ । संवेदनशील स्थानको निगरानीका लागि २१ ड्रोन र सीमा नाकाका ४१२ सीसीटीभी क्यामेराबाट २४सै घण्टा अनुगमन गरिने सशस्त्र प्रहरीले जनाएको छ ।
आपत्विपद्मा सहयोगका लागि सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४ र सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सकिनेछ ।
रासस:


