काठमाडौं — प्रहरी प्रधान कार्यालय, नक्सालमा तीन घन्टाभन्दा लामो समयदेखि प्रहरी उच्च अधिकृतहरुको बैठक चलिरहेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बोलाएको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक यतिबेलासम्म जारी रहेको हो ।
आईजीपी कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै आएका विवरणहरुपछि उत्पन्न परिस्थितिका बीच समसामयिक विषयमा छलफल गर्न भन्दै यो बैठक बोलाइएको थियो । प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि माथिल्लो तहका अधिकारीहरू सहभागी बैठकमा आईजीपीलाई हटाउने भन्दै आएका विषयवस्तुप्रति नै केन्द्रित रहेर छलफल भइरहेको छ ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार, महानिरीक्षक कार्कीको ब्रिफिङपछि हरेक अधिकारीहरूले आफ्नो धारणा राखिरहेका छन् । धारणा राखेका कतिपय अधिकारीहरूले बाहिर आएका विषयवस्तुले राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्री कार्यालयमा सामूहिक रुपमा उपस्थित भएर आफूहरुको कुरा राख्नुपर्ने बताएका छन् ।



