काठमाडौं
२०८२ चैत्र २० गते

राजु सामत
काठमाडौँ — सरकारले महिलाहरुको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने जनाएको छ । १३ चैत २०८२ को मन्त्रिपरिषद्बाट जारी शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरूमा ब्लु बस सेवाबारे पनि उल्लेख छ । पहिलो चरणमा १०० दिनभित्र कम्तिमा २५ वटा बस सञ्चालनमा ल्याउने सरकारको योजना छ ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र साझा यातायात ब्लु बस सेवा सञ्चालनका लागि छलफलमा जुटेको छ । यद्यपी मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले सरकारको १०० कार्यसूचीअनुसार समग्रमा ‘एक्सन प्लान’ बनाइरहेको त्यसलाई पनि समेटिने बताए । ‘एक्सन प्लान अनुसार काम गर्छौ र तोकिएको समयसीमा भित्र सबै हुन्छ,’ उनले भने ।
आफूहरु सञ्चालन गर्ने पक्षमा रहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले बताए । ‘ब्लु बस सेवा सञ्चालन गर्ने पक्षमा छौं, तर निशुल्क भनिएकाले जटिल कार्य हो, त्यसको मोडालीटि कस्तो हुन्छ भन्ने तय भइसकेको छैन्,’ उनले भने । ब्लु बस सेवाको रुट, कसको नेतृत्व हुनेबारे उल्लेख नगरिएकाले छलफल भइरहेको उनको भनाई छ ।
साझा बसका पेट्रोलियम र विद्युतीय सवारी गरी १११ वटा बस छन् । अधिकाशं बसहरु उपत्यकामा सञ्चालन भइरहेका छन् । साझाले काठमाडौं-वाग्लुङमा २ वटा रात्री बस सञ्चालन गरिरहेको छ भने छिट्टै काठमाडौं-चितवनमा पनि सञ्चालन गर्ने योजना छ ।
यसअघि रास्वपाका सभापति रवि लामिछानेले २०८० वैशाख आफ्नो निर्वाचन क्षेत्र चितवन–२ मा महिलाका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका थिए । चितवन–२ का महिलाका लागि ३२ सिट क्षमताको बस सञ्चालन गरिएको छ । नीलो रङको बसलाई ‘ब्लु बस’ नाम दिइएको छ । बस चितवन–२ को शक्तिखोर, पदमपुर हुँदै भरतपुरसम्म लगभग २५ किलोमिटर दूरीमा चल्नेछ ।
फागुन २१ को निर्वाचनका लागि आचारसंहिता लागु भएपछि उक्त सेवा रोकिएको भरतपुर महानगरपालिका रास्वपाका नगर सभापति सीता ज्ञवालीले बताइन् । ‘केहि समय गाडी बिग्रेर सञ्चालनमा आएको थिएन, त्यसपछि सञ्चालनमा आए पनि निर्वाचन आचारसंहिता लागु भएपछि रोकियो,’ उनले भने, ‘त्यसयता नयाँ निर्णय गरेका छैनौं र गाडी सूचारू गरेका छैनौं ।’

