सवारी कर्जा र बिमा कति जोखिम कति सुरक्षित ?

२०८३ श्रावण २८, बिहीबार
पढ्ने समय : 2 मिनेट

काठमाडौ 

२८ साउन २०८३

राजु सामत 

 

काठमाडौं — अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बिमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवालाले जोड दिएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक नाइमा मोबिलिटी संवादका सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले सन् २००७/०८ मा विश्वव्यापी संकट आएपछि बैंकहरूको पुँजीले मात्र हुँदैन भनेर ‘लोन टू भ्यालु रेसियो’ कायम गरेको बताए । ‘बासेलमा पनि उक्त व्यवस्था रहेकाले लोन टू भ्यालु रेसियोको व्यवस्था गरेका हौं, हायर पर्चेस कर्जामा सुरुमा ५० प्रतिशत लोन टु भ्यालु रेसियो भए पनि अहिले विद्युतीय सवारी (ईभी) मा ८० प्रतिशत र आइस इन्जिन गाडीमा ६० प्रतिशत छ,’ उनले भने, ‘ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ । त्यसमा सुरक्षित हुन पनि लोन टू भ्यालु रेसियो महत्वपूर्ण छ ।’

लोन डिफल्ट हुँदै गएपछि भोलि गाडी आयातकर्ता, ऋणी, ऋणदाता नै समस्यामा पर्ने भएकाले यो आवश्यक रहेको उनको भनाइ छ । ‘लोन टू भ्यालु रेसियो परिवर्तन हुने विषय राज्यमा निर्भर रहन्छ । राज्यको सोचमा पनि भर पर्छ । परिवर्तन पनि हुन सक्छ,’ उनले भने । ईभीमा ग्रिन फाइनान्सिङअन्तर्गत रहेकोले लोन टू भ्यालु रेसियो केही सहज गराएको उनले बताए ।

अटो कर्जा र हायर पर्चेज कर्जा फरक भनेर बुझ्नुपर्ने उनले बताए । यस्तो कर्जाअन्तर्गत मोबाइल र घरायसी सामान पनि गइरहेकाले फरक बुझ्नुपर्ने उनले प्रष्ट पारे । अहिले कुल कर्जा ६० खर्ब रुपैयाँमध्ये १ खर्ब ४२ अर्ब  हायर पर्चेजको हिस्सा रहेको उनले जानकारी दिए । गत वर्षको तुलनामा हायर पर्चेज कर्जा १० प्रतिशतले बढेको उनको भनाइ छ । ‘यसमा खराब कर्जा कम भएकाले सानो मार्जिन राखेर पनि बैंकहरू कर्जा दिन तयार छन्,’ उनले भने । अटो लोनमा क्रेडिट बबल आउँछ र जोखिम हुन्छ जस्तो नलागेको निर्देशक सुवेदीले बताए ।

एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले अटो बिमा दाबी गर्दा समस्या हुने भाष्य बनेको बताए । उनले बिमा दाबीको आधारभूत सिद्धान्त हुने भएकोले यसको प्रमाण र प्रक्रिया बुझेपछि सहज हुने बताए ।

उनले घरायसी सामानको जोखिम नदेखिने भएकाले बिमा नभएको बताए । सवारी साधन र मोबाइलबाहेक घरायसी सामानमा बिमा नदेखिएको उनको भनाइ छ । उनले ईभी गाडीको ब्याट्रीमा ५० प्रतिशतमात्रै बिमाले डिप्रिसिएसन काटिने जानकारी दिए

कार्यक्रममा हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर पर्चेज  कम्पनीलाई नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र छुट्याएको बताए । उनले हायर पर्चेज कम्पनीले सवारी साधन, घरायसी सामानमा पनि कर्जा प्रवाह गरिरहेको बताए ।

‘हाम्रो लक्षित वर्ग भनेको बैंकहरूसम्म पुग्न नसक्ने ग्राहक हुन् । सानो कर्जाका ग्राहकलाई कर्जा प्रवाह गर्नु हाम्रो लक्ष्य हो ।’ यी कम्पनीहरूले बैंकबाट लिएर नै हामीले कर्जा प्रवाह गर्ने गरेको र अहिलेसम्म ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको जानकारी उनले दिए । उनले भने, ‘पछिल्लो कर्जा प्रवाहमध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा कर्जा प्रवाह भएको छ ।’

उनले बैंकका प्रक्रिया पूरा भएकाहरूका लागि पनि यस्ता कम्पनीहरूले कर्जा प्रवाह गर्ने गरेको बताए । केही घण्टामा नै हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गर्ने गरेको उनले उल्लेख गरे । ‘६० प्रतिशत हायर पर्चेज ऋण लिने ४० वर्ष उमेरभन्दा कमका छन्,’ ठाकुरले भने ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिइरहेको बताए । उनले पहिला गाडी किन्ने औसत उमेर ४३ भए पनि अहिले भने कम रहेको बताए । उनले भने, ‘अहिले ६० प्रतिशत ऋण लिने ४० वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि महिलाको संख्या उल्लेख्य छ ।’

सबैभन्दा बढी काठमाडौं नै भए पनि कर्जा विकेन्द्रीकृत हुँदै गएको उनको भनाइ छ । उनले भने, ‘काठमाडौंबाहिरका सहरमा पनि बजार विस्तार गर्दै गएका छौं ।’ स्थिर आम्दानीको स्रोत भएका र विद्यार्थीले पनि गाडी चढ्न सक्ने उनले बताए ।

हायर पर्चेज कम्पनीलाई कर्जा दिएपछि बैंकहरूलाई पनि सहज हुने उनको भनाइ छ । यसले गर्दा बैंकहरूको जोखिम पनि पास हुने उनले बताए । सबै डकुमेन्ट पूरा गरे बैंकहरूले अर्को दिन नै कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ छ ।

 

 

:रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय