काठमाडौं
१४ कार्तिक २०८३

राजु सामत
काभ्रे — अविरल वर्षासँगै आएको ग्राभेल र माटोसहितको लेदोले काभ्रेको बेथानचोक गाउँपालिका–४ खहरेखोलामा घर तथा गोठमा क्षति पुर्याएको छ। लेदो बस्तीमा पस्दा स्थानीयका घर पुरिनुका साथै निर्माणाधीन घर, टहरा र गोठसमेत भत्किएका छन्।
शनिबार बिहान करिब ८ बजेर ४० मिनेट जाँदा आएको लेदोले स्थानीय शेरबहादुर तामाङको ढुंगा–माटोले बनेको जस्तापाताको छाना भएको एकतले घर गेग्रानले पुरिएको छ। घरको छानासम्मै गेग्रान थुप्रिएको प्रहरीले जनाएको छ। उनकै अर्को तीनतले घरमा भल पस्दा घरभित्र र बाहिर राखिएका सामान बगाएको छ।
त्यस्तै, स्थानीय हर्कबहादुर तामाङको गोठ भत्किएको छ। उनको तीनतले घरको तल्लो तलामा भल पस्दा घरभित्र राखिएका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार त्यही स्थानका जगत तामाङको जस्तापाताको कटेरो र निर्माणाधीन दुईकोठे घर भत्किएको छ। हर्कबहादुर तामाङको दुईतले कच्ची घर र जस्ताको कटेरो बगाएको छ। पोतेबहादुर तामाङका तीनतले र एकतले गरी दुईवटा घर पूर्ण रूपमा क्षति भएका छन्।
त्यस्तै, पुष्पा तामाङको जस्ताको टहरो र निर्माणाधीन दुईकोठे घरमा क्षति पुगेको छ। सुमन तामाङको जस्ताको टहरो भत्किएको छ। सेते तामाङको निर्माणाधीन दुईकोठे घरमा समेत क्षति पुगेको छ। हर्कबहादुर तामाङको जस्तापाता र काठले बनेको गोठसमेत पूर्ण रूपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ।
ग्राभेल र माटोसहितको लेदो बस्तीमा पसेर विस्थापित भएका ७ परिवारका ३२ जनालाई पालिकाले सुरक्षित स्थानमा होल्डिङ सेन्टर तयार गरेर आवश्यक पूर्वाधारको व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए। उनका अनुसार विस्थापित परिवारलाई गाउँपालिकाले राहत पनि वितरण गरेको छ।
रासस:


