फुटबल खेलाडी राईको उपचारमा बेवास्ता गरेको भन्दै सुनसरीका खेलाडी आन्दोलित

२०८३ श्रावण ३०, शनिबार
पढ्ने समय : 2 मिनेट

काठमाडौं

३० साउन २०८३

राजु सामत 

सुनसरी — खेलका क्रममा गम्भीर घाइते भएका राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारमा सरकारले बेवास्ता गरेको भन्दै सुनसरीका खेलाडी सडकमा उत्रिएका छन् । इटहरी उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका सयाै‌ं खेलाडीले प्लेकार्डसहित शनिबार दबाबमूलक र्‍याली निकाल्दै आशिषको उपचारका लागि राज्यले तत्काल जिम्मेवारी लिनुपर्ने माग गरेका हुन् ।

२०८० फागुन ३ गते चीनमा भएको मैत्रीपूर्ण खेलका क्रममा खेलको ३६ औं मिनेटमा बल अघि बढाउने क्रममा विपक्षी डिफेन्डरसँग ठोक्किएपछि आशिष मैदानमै ढलेका थिए । गम्भीर चोट लागेका उनलाई अस्पताल पुर्‍याउन करिब तीन घण्टा ढिलाइ भएको परिवारको भनाइ छ । उपचारमा भएको यही ढिलाइले चोट थप जटिल बनेको परिवारको बुझाइ छ ।

दुर्घटनापछि काठमाडौंस्थित बीएन्डबी अस्पतालमा आशिषको दुई चरणमा शल्यक्रिया भयो । त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा उनलाई थप उपचारका लागि चीनको युनान स्पोर्ट्स अस्पताल लगिएको थियो । त्यहाा करिब तीन महिना उपचार गरे पनि उनको खुट्टामा मेटल प्लेट राख्नुपर्ने अवस्था आयो । कुनै समय मैदानमा बल लिएर दौडिने आशिषको जीवन त्यसपछि अस्पताल, हिृवलचेयर र उपचार कक्षमा सीमित भयो । विशेषज्ञ उपचार आवश्यक भएपछि उनी थाइल्यान्ड पुगे । त्यहाँ पुगेको पनि झन्डै चार महिना बितिसकेको छ ।

अहिले पनि आशिष थाइल्यान्डको अस्पतालमा उपचारत छन् । थाइल्यान्डमा उपचार जारी रहे पनि उनको खुट्टाको समस्या पूर्णरूपमा निको नभएको सुनसरीका फुटबल प्रशिक्षक भोला राईले जानकारी दिए ।
खुट्टाभित्र राखिएको मेटल प्लेट निकाल्नुपर्ने अवस्था अझै छ भने हड्डी पूर्णरूपमा जोडिन बाँकी रहेको परिवारले जनाएको छ । खुट्टाका औंला पनि सहज रूपमा चल्न सकेका छैनन् । लामो समयसम्म उपचार गर्नुपर्दा परिवारमाथि आर्थिक भारसमेत थपिँदै गएको छ । परिवारले ऋण गरेर उपचार खर्च जुटाउँदै आएको जनाएको छ ।

उपचारको अवधि लम्बिँदै जाँदा आर्थिक समस्या थप गम्भीर बनेको उनका छिमेकी उमेश कार्कीले बताए । आशिषले उपचारका क्रममा एन्फाबाट अपेक्षित सहयोग निरन्तर प्राप्त गर्न कठिन भइरहेको गुनासो गरेका छन्। उपचारमा राज्य र सम्बन्धित खेल निकायले जिम्मेवारी लिनुपर्ने उनको माग छ ।

एन्फाले भने चीन र थाइल्यान्डसम्मको आशिषको उपचार खर्च व्यहोर्दै आएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय निलम्बनका कारण एन्फाको बैंक खाता रोक्का हुादा आर्थिक व्यवस्थापनमा प्राविधिक समस्या आएको एन्फाको भनाइ छ । आशिषको उपचारमा देखिएको अन्योल र आर्थिक समस्याप्रति ध्यानाकर्षण गराउन सुनसरीका खेलाडीहरूले दबाबमूलक प्रदर्शन गरेका हुन् ।

 

 

: रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय