नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जिव थापासहित ५ जना पक्राउ

२०८३ भाद्र २, मंगलवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं 

०२ भदोै २०८३

राजु सामत 

काठमाडौँ — नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता गरी ठगी गरेको आरोपमा प्रहरीले पूर्वअध्यक्ष सञ्जिव थापासहित ५ जनालाई पक्राउ गरेको छ ।

४ जना तत्कालीन पदाधिकारी र १ जना बिचौलिया पक्राउ परेको सीआईबी प्रमुख उमा चतुर्वेदीले जानकारी दिए ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिका–३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुन्द्रटार–६ स्थायी घर भई काठमाडौं–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, चाँगुनारायण नगरपालिका–५ बस्ने ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी घर भई मध्यपुर थिमी–१ बस्ने ७० वर्षीय सञ्जीव थापा र काठमाडौं–१६ बालाजु बस्ने ६७ वर्षीय इन्द्रबहादुर केसी छन्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीमाथि भएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन अध्ययन गर्दा जग्गा खरिदमा बोलपत्रको सर्तविपरीत बिचौलियामार्फत कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।

२०७३ भदौ २२ मा प्रकाशित सूचनाअनुसार रेडक्रसका लागि गोदाम घर सञ्चालन गर्न भक्तपुर नगरपालिका–४ मा रहेको कित्ता नम्बर ८६३, ४९६, ४९७ र ८५८१ को ५ रोपनी १३ आना ३ पैसा क्षेत्रफलको जग्गा खरिद गरिएको थियो । त्यसबापत ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरिएकोमा १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

नापी कार्यालय भक्तपुरबाट जग्गाको क्षेत्रफल एकिन गराउँदा फिल्डमा भने ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र रहेको पाइएको प्रहरीले जनाएको छ । बोलपत्रको सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरी रेडक्रसलाई हानिनोक्सानी पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

भक्तपुर जिल्ला अदालतबाट पक्राउ गरी अनुसन्धान गर्न अनुमति लिएर पाँचै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय