अर्घाखाँची
फागुन -२७-२०८२

राजु सामत
अर्घाखाँची— काँकडभिट्टा–लौकही सडक विस्तार थालेको २५ महिना पुग्दा प्रगति ४० प्रतिशत पनि कट्न सकेको छैन । समग्रमा निर्माण प्रगति ३२ प्रतिशत मात्र छ । यसलाई सडकतर्फ तीन र पुलतर्फ दुई प्याकेज बनाएर ठेक्का गरिएको छ । तर सडक र पुल दुवैमा सोचेअनुरूपको प्रगति छैन ।
निर्माण सुरु भएको लामो समय बित्दा बल्ल बिजुलीका पोल सार्ने, खानेपानीका पाइप हटाउने काम हुँदै छ । दुवै खण्डका योजना कार्यालयले सडक कालोपत्रको कामलाई पहिलो प्राथमिकतामा राखेका छन् । काँकडभिट्टा–लबिपुर खण्डको कुल दूरी ९५.७६ किलोमिटर छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सबै खण्डको ठेक्का भएको हो । झापाको काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किमि खण्ड पहिलो प्याकेजमा पर्छ । जसको ठेक्का इभ्रास्कन–कालिका जेभीले लिएका हुन् । इभ्रास्कन अजरबैजनको कम्पनी हो । यस खण्डको सम्झौता रकम १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ छ । सडक र पुलसहित सबै खण्डको ठेक्का सम्झौता २ कात्तिक २०८० मा भएको हो । तर, निर्माण कार्यादेश भने १९ माघ २०८० (२ फेब्रुअरी २०२४) मा दिइएको हो । कार्यादेश दिएको दिनबाट समयावधि गणना हुने योजना कार्यालयले जनाएको छ । सडकतर्फ अहिलेसम्म निर्माण प्रगति ३७ प्रतिशत रहेको काँकडभिट्टा–लौकही सडक योजना, पूर्वी खण्ड, दमकका प्रमुख सुनीलबाबु पन्तले बताए ।

