काठमाडौं
२०८२ चैत्र २१ गते

राजु सामत
काठमाडौँ — जापानमा हुने २० औं एसियाली खेलकुदका लागि हुने एसियाली छनोट तथा विश्व च्याम्पियनसिपमा भाग लिन नेपाली क्लाम्बिङ टोली चीन जाने भएको छ ।
दुवै प्रतियोगितामा नेपालबाट पुरुषतर्फ तेन्जिङ बर्टिन राई र रौनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले प्रतिस्पर्धा गर्नेछन् । एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा अप्रिल ८ देखि १२ सम्म हुनेछ । यस प्रतियोगितामा नेपालले बोल्डरिङ र लिड विधामा भाग लिनेछ ।
जापानमा हुने २० औं एसियाली खेलकुदमा स्थान निश्चित गर्न शीर्ष १६ स्थानमा पर्नुपर्ने नेपाल क्लाम्बिङ स्पोर्ट एसोसिएसनका महासचिव सन्तोष मादेनले जानकारी गराए
विश्व क्लाइम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुनेछ । यसमा बोल्डरिङ विधा मात्र समावेश छ ।
दुई प्रतियोगिताको बीच समयावधिमा खेलाडी प्रशिक्षणमा सहभागी हुने संघले जनाएको छ । चीन जाने नेपाली क्लाइम्बिङ टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिबार बिदाइ गरे ।

