काठमाडौ
२०८२ चैत्र २४

राजु सामत
काठमाडौँ — मोबिलिटी तथा डेलिभरी प्लेटफर्म ‘इनड्राइभ’ ले नेपालमा कार्यरत आफ्ना चालकहरूलाई २२ लाख रुपैयाँ बराबरको इन्धन सहयोग गर्ने घोषणा गरेको छ । इन्धनको बढ्दो मूल्य र महँगीका कारण चालकहरूमा परेको आर्थिक भार कम गर्न कम्पनीले यो कदम चालेको हो ।
कम्पनीका अनुसार २ वैशाख २०८३ देखि लागु हुने गरी उक्त इन्धन सहयोग कार्यक्रम सुरु गरिनेछ । यस पहलबाट चालकहरूको सञ्चालन लागत घट्ने र उनीहरूको दैनिक आम्दानीलाई स्थिर राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
इन्धन सहयोगका अतिरिक्त इनड्राइभले चालकहरूको कमाइ बढाउन र कार्यगत लचिलोपन मजबुत बनाउन विभिन्न योजनाहरू कार्यान्वयनमा ल्याएको छ । राइड-हेलिङ उद्योगमै सबैभन्दा कम सेवा शुल्क (कमिसन) लिने गरेको कम्पनीको दाबी छ । कार्यसम्पादनमा आधारित बोनस, पुरस्कार र विभिन्न इन्सेन्टिभ योजनाहरू र यात्रु र चालकले आपसी सहमतिमा प्रत्यक्ष भाडा तय गर्न सक्ने सुविधा पनि ल्याएको छ ।
बढ्दो इन्धन लागतले चालकको आम्दानीमा असर पारेकाले तत्काल राहत र दीर्घकालीन न्यायोचित प्रणाली निर्माण गर्न लागिएको इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले बताइन् ।
‘हाम्रो प्लेटफर्मको मूल आधार नै न्याय हो,’ उनले भनिन्, ‘चालकलाई सशक्त बनाउँदै सेवालाई सबैको पहुँचमा राख्नु हाम्रो प्राथमिकता हो । यसले दिगो र सन्तुलित मोबिलिटी इकोसिस्टम निर्माणमा योगदान पुर्याउनेछ ।’
नेपालमा राइड-हेलिङ सेवा विस्तारसँगै यो क्षेत्र हजारौंका लागि रोजगारीको प्रमुख स्रोत बनेको छ । तर, इन्धनको मूल्य वृद्धि र यात्रुहरूको भाडाप्रतिको संवेदनशीलताका कारण बजारमा सन्तुलन कायम राख्नु चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा इनड्राइभले चालकको दिगोपन र यात्रुको किफायती सेवाबीच तालमेल मिलाउने प्रतिबद्धता जनाएको छ ।

