काठमाडौं
२०८३ बैशाख ०५ गते

राजु सामत
काठमाडौँ — कान्तिपुर हाफ म्याराथनमा शारीरिक रूपमा फरक क्षमता हुनेका लागि ‘ह्विलचेयर रेस’ सुरुदेखि समावेश विधा हो । शनिबार भएको १४ औं संस्करणको प्रतियोगितामा ऐश्वर्य कुमाल र रमेश खत्रीले ३ किमि दूरीको ह्विलचेयर रेस जिते ।
ऐश्वर्यले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक नै गरिन् भने रमेशको यो दोस्रो उपाधि जित हो । दुई वर्षअघि पनि उनीहरू दुवै च्याम्पियन भएका थिए । गत वर्ष रमेश विजेता बन्न सकेनन् तेस्रो स्थानमा थिए ।
अछाम साँफबगर–७ की ऐश्वर्यले ६ वर्षअघि रातो माटो खन्न जाँदा पुरिएर ढाडको चोट बोकेकी थिइन् । उपचारमा आधा महिना अस्पतालमै बिताइन् भने महिनौं महिना थेरापीमा ।
जोरपाटीस्थित स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालमा बस्दै आएकी ऐश्वर्य दौमात्र होइन, बास्केटबल र पौडी पनि खेल्छिन् । बास्केटबलका लागि उनी इन्टरनेसल प्रतियोगिता खेल्न थाइल्यान्डसम्म पुगिसकिन् । खगेन्द्र मेमोरियल कलेज (केएमसी) मा कक्षा ११ मा अध्ययनरत उनी ह्विलचेयर दौडलाई आफ्नो खर्चको माध्यम ठान्छिन् । उनले भनिन्, ‘यस्ता दौडमा जितेका पुरस्कारले आफूलाई खर्च चलाउन सहज हुन्छ ।’ उनी ट्याक्सीबाट आउनेजाने गरेर भए पनि विभिन्न दौड प्रतियोगिताहरूमा भाग लिन पुगिरहेका हुन्छिन् ।
विगत तीन वर्षयता ऐश्वर्यलाई टक्कर दिनेमा प्युठानकी यामीकुमारी झाँक्रीमगर र खोटाङकी रजनी राई नै छन् । ऐश्वर्यले १२ मिनेट २६ः९९ सेकेन्डमा दुरी पार गर्दा यामीले १३ मिनेट ३०ः६३ सेकेन्ड र रजनीले १५ मिनेट ५०ः०८ सेकेन्डमा रेस पूरा गरेका थिए । यामी दोस्रा र रजनी तेस्रा भए । पछिल्लो दुई वर्ष पनि उनीहरू सोही स्थानमा विजयी भएका थिए । यामी यस रेसको पाँच पटककी विजेता पनि हुन् ।
दैलेखका २८ वर्षे रमेश यस ह्विलचेयर रेसका अनुभवी प्रतिस्पर्धी हुन् । पहिलोचोटि भाग लिँदा छैटौं भए । त्यसपछि दुई पटक विजेता भए भने गत वर्ष तेस्रो भए । अहिले पुनः विजेता बने ।
२०७२ सालको बिनाशकारी भूकम्पमा घर भत्किएर पुरिएका थिए । बालाजुमा होटल लाइनमा काम गर्थे उनी । त्यहीं घर भत्कँदा बिमले थिचिए । उद्दारपछि उनले महिनौं दिन अस्पतालको बेडमा बिताए । ज्यान त बच्यो, आधा शरीर फाल्नुपर्ने गरी । उनले दुवै खुट्टाको घुँडामुनिको भाग काटेर फालेका छन् । त्यसैले अहिले उनको सहारा ह्विलचेयर बनेको छ ।
जोरपाटीमा बस्छन् । सुन्दरढोका साथी संस्थासँग आवद्ध छन् । जुन संस्थाले फरक क्षमताका व्यक्तिहरूको लागि काम गर्दै आएको छ । रमेश त्यही ह्विलचेयर रिपेरिङको काम गर्छन् ।
रमेशले सुनाए, ‘यस्ता गेमहरू हुँदा हामीहरू मोटिभेट पनि हुन्छौं । सहभागी नै हुँदा पनि उत्साह मिल्छ । झन फस्ट, सेकेन्ड हुन सक्यो भने त धेरथोरै पुरस्कारबाट आम्दानी पनि हुन्छ । खुसी छौं ।’ रमेश पनि पौडीका पनि खेलाडी हुन् ।

