मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाएको छ : उद्योग वाणिज्य महासंघ

२०८३ असार २४, बुधबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं

२४ असार २०८३

राजु सामत 

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै यसले निजी क्षेत्रको मनोबल बढाउने जनाएको छ ।

मुलुकको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासंघको धारणा रहेको छ । सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहने यथार्थलाई मौद्रिक नीतिले आत्मसात गरेको महासंघको भनाइ छ ।

निजी क्षेत्रको लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई थप चलायमान बनाउन मौद्रिक नीतिले अवलम्बन गरेको लचिलो कार्यदिशा उपयुक्त रहेको महासंघका अध्यक्ष अन्जन श्रेष्ठले बताए । ‘महासंघले लामो समयदेखि उठाउँदै आएका विभिन्न विषयलाई मौद्रिक नीतिमा सम्बोधन गर्ने प्रयास गरिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘व्यक्तिगत जमानीका आधारमा असीमित दायित्व सिर्जना हुने अवस्था हटाउने व्यवस्था, रुग्ण उद्योगमा रहेको निस्कृय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्ने उपाय सकारात्मक छन् ।’

संस्थागत क्षमताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण र सार्वजनिक यातायातमा प्रयोग हुने ठूला विद्युतीय सवारी साधनका लागि कर्जा–धितो अनुपातलाई थप सहज बनाउने व्यवस्था सकारात्मक रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

महासंघले साना तथा मझौला र ठूला उद्योग व्यवसायहरू र विभिन्न क्षेत्रगत कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरणको सम्बन्धमा अब आउने निर्देशिकामा स्पष्ट रुपमा समेटिनु पर्नेमा जोड दिएको छ ।

नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैंक दर, नगद मौज्दात अनुपात, वैधानिक तरलता अनुपात तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णयले नीतिगत स्थिरता कायम गर्ने महासंघको बुझाइ छ । यसले लगानीकर्तामा विश्वास बढाउने र व्यावसायिक वातावरणलाई थप पूर्वानुमानयोग्य बनाउने अपेक्षा गरिएको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय