काठमाडौं
४ साउन २०८३

राजु सामत
कञ्चनपुर — डिभिजन वन कार्यालय महेन्द्रनगर अगाडिको सरकारी जमिनको ठाउँ–ठाउँमा छाप्रा बनाइएको छ। तिनै छाप्राभित्र कतै भूइँमै ओछ्यान लगाइएको छ भने कतै खाट राखिएका छन् । राति पानी पर्दा आकाश र भूइँ दुवैतिरबाट कपडा सबै निथ्रुक्क भिज्छन् ।
तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएका ५६ वर्षीय कृष्णसिंह विष्ट यस्तै अवस्थामा बसेका छन् । करिब ६ महिनादेखि यहाँ छाप्रो बनाएर बसेका उनी बेला–बेलामा आरक्ष विस्थापितको पुनर्स्थापनाको माग गर्दै हुने आन्दोलनमा पनि सहभागी भइरहेका छन् । तर उनलाई अझै पनि पुनर्स्थापना हुने आशा भने छैन । ‘भोकभोकै र अनिँदै बस्नुपरेको छ, पानी परेका दिन दाउरा बाल्नै सकिँदैन, भोकै सुत्नुपर्छ,’ विष्टले भने, ‘छाप्रोमा एकातिर सर्पको डर, अर्कोतिर पानी चुहिएर लुगा सबै भिजेर सुत्नै सकिन्न ।’
विष्टको साविक पिपलाडी गाविस–१ तारापुरमा डेढ विघा जमिन थियो । आरक्ष विस्तारका क्रममा २०५८ मा विस्थापित भएपछि उनी परिवारसहित विभिन्न ठाउँमा बस्दै आएका छन् । अहिले उनले परिवारलाई बेदकोट नगरपालिकाको दैजीमा अधियाँ बनाएर बसालेका छन् । आफू भने पुनर्स्थापनाको आशामा भौतारिरहेका छन् ।
‘पुनर्स्थापनाको आशामै बुवा बितिहाले, म पनि बुढो भइसकेँ, अब छोराहरू पनि यसैमा लाग्नुपर्ने बेला भएको छ,’ विष्टले भने, ‘हामी तीन पुस्तासम्म विस्थापित नै छौं, तर जति सरकार आए पनि हाम्रो माग सुन्दैन ।’
तारापुरबाटै विस्थापित दुरादेवी महराले पानी परोस् वा घाम लागोस् जतिबेला पनि छाप्राको बास सकसपूर्ण भएको बताउँछिन् । उनले भनिन्, ‘छाप्राभित्र पनि कहिले सर्प जान्छ, कहिले पानी भरिन्छ, यस्तो अवस्थामा कसरी बस्ने ?’ उनले छाप्रोमा प्लास्टिक हालेकी छिन् । तर ठाउँ–ठाउँमा प्वाल भएका कारण पानी चुहिन्छ । टाउकोतिर जोगाए खुट्टातिर चुहिने र खुट्टा जोगाए टाउकोतिर चुहिने गरेको उनी बताउँछिन् ।
उनलाई पनि डिभिजन वन कार्यालय अगाडिको सरकारी जमिनमा छाप्रो बनाएर बस्न थालेको ६ महिनाभन्दा बढी भयो । दिनभरि मजदुरी गर्ने र त्यसैबाट भएको आम्दानीले साँझ–बिहानको छाक टार्ने काम भइरहेको छ । तर केही दिनयता वर्षाका कारण काम गर्न नसकेपछि अहिले भोकै बस्नुपर्ने अवस्था आएको महराले बताइन् । ‘अहिले त भोकै बस्नुपरेको छ, दाउरा पनि छैन, राशन पनि छैन,’ उनले भनिन्, ‘यो हिलोमा कसरी बस्ने, खाना कसरी बनाउने, कपडा सबै भिजेको छ ।’

