काठमाडौं
७ साउन २०८३

राजु सामत
डडेल्धुरा — वर्षा सुरु हुनेबित्तिकै आलिताल गाउँपालिका–१ को मालागाउँका बासिन्दाको मनमा त्रास बढ्छ । चार वर्षअघि पहिरोले बस्ती नै जोखिममा परेपछि घर छाड्न बाध्य बनेका २४ परिवार अहिसे पनि स्थायी बसोबासको पर्खाइमा छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको वर्षौं बितिसक्दा पनि पुनःस्थापनाको प्रक्रिया पूरा हुन नसक्दा उनीहरू अस्थायी टेन्टमै कष्टकर जीवन बिताइरहेका छन् ।
२०७९ सालको बर्खामा पहिरोले मालागाउँको जमिनमा चिरा परेपछि बस्तीमा बस्न नमिल्ने अवस्था बनेको थियो । पहिरोपछि गाउँका घरहरू उच्च जोखिममा परेपछि प्राविधिकहरुले बस्ती नै स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकालेका थिए । त्यसयता २४ परिवार गाउँको पारिपट्टि रहेको ‘बस्ती’ भन्ने स्थानमा त्रिपालमुनि बस्दै आएका छन् । तर अस्थायी बसोबासका लागि राखिएका टेन्टमै चार वर्ष बितिसक्दा पनि उनीहरूको व्यवस्थापन हुन सकेको छैन ।
टेन्टमा बसिरहेका परिवारका सदस्य अहिले पनि दिनमा घर रहेको स्थान र खेतबारीमा काम गर्न गाउँ फर्किन्छन् । साँझ परेपछि टेन्टमा फर्केर रात बिताउँछन् । पानी परेका बेला दिउँसो पनि टेन्टमै बस्नुपर्ने अवस्था हुने गरेको उनीहरू बताउँछन् । प्रत्येक वर्षायाममा उनीहरू पहिरो र ढुंगा खस्ने त्राससँगै रात काट्न बाध्य छन् ।
मालागाउँका दानबहादुर औजीले सरकारले पुनःस्थापनाको आश्वासन दिए पनि चार वर्षसम्म कुनै उपलब्धि नभएको गुनासो गरे । ‘पहिला दिएको त्रिपाल नै अहिले कुहिन थालेको छ । पानी चुहिन्छ । खोला तरेर गाउँ आउजाउ गर्नुपर्छ । वर्षामा खोला बढेपछि झन् समस्या हुन्छ,’ उनले भने, ‘खानेपानीको व्यवस्था छैन । पाइप बस्तीसम्म ल्याउन सकिएको छैन । खाद्यान्न किन्न पनि गाह्रो छ । काम केही पाइँदैन, परिवार पाल्नै मुस्किल भइरहेको छ ।’
उनका अनुसार टेन्ट र पुरानो बस्तीको बीचमा खोला रहेकाले वर्षाको समयमा आवतजावत पनि जोखिमपूर्ण बन्ने गरेको छ । दैनिक उपभोग्य सामान बोक्नेदेखि बिरामीलाई अस्पताल लैजानसम्म कठिनाइ हुने गरेको उनले बताए ।
अर्की स्थानीय सुनिता औजीले ६ जनाको परिवारसहित चार वर्षदेखि टेन्टमै बस्दै आएको बताइन् । ‘पहिरो गएको दिनदेखि सुरक्षित घरको पर्खाइमा छौं । तर अझै टेन्टमै बस्नुपरेको छ,’ उनले भनिन्, ‘टेन्ट कुहिसकेको छ । माथिबाट ढुंगा खस्ने डर हुन्छ । पानी परेपछि झन् डर लाग्छ ।’ उनका अनुसार साना बालबालिकालाई पिठ्युँमा बोकेर खोला तरेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ । वर्षायाममा खोला बढेपछि जोखिम झन् बढ्ने गरेको उनले सुनाइन् ।
पहिरोपछि मालागाउँका बासिन्दालाई विभिन्न सरकारी निकाय तथा बहुउद्देश्यीय विकास समाज (एमपीडीएस) र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) लगायतका गैरसरकारी संस्थाले त्रिपाल तथा राहत सामग्री उपलब्ध गराएका थिए । उक्त राहतले तत्कालको समस्या केही हदसम्म समाधान गरे पनि दीर्घकालीन व्यवस्थापन हुन नसक्दा उनीहरू चार वर्षदेखि अस्थायी टेन्टमै बस्न बाध्य छन् ।
स्थानीयका अनुसार टेन्टमा सुरक्षित रूपमा बस्न सकिने अवस्था पनि छैन । त्रिपाल पुरानो भएर चुहिने गरेको छ । खानेपानी, शौचालय, विद्युत् र स्वास्थ्य सेवाजस्ता आधारभूत सुविधा पर्याप्त छैनन् । खाद्यान्न अभाव र रोजगारीको समस्याले दैनिक जीवन थप कष्टकर बनेको उनीहरूको गुनासो छ
: रासस

