अस्ट्रेलियामा अहिले करिब ६० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । यसमध्ये ५६ हजार यसअघि नै भिसा पाएका पुराना विद्यार्थी हुन् भने करिब ४ हजार मात्र नयाँ भिसा पाएर अध्ययन गरिरहेका विद्यार्थी हुन् ।
यहाँस्थित गृह मन्त्रालयका अनुसार अध्ययनका लागि आवेदन दिने नेपालीको संख्यामा समेत कमी आएको छ । गत जनवरीदेखि मेसम्मको तथ्यांकअनुसार उच्च शिक्षाका लागि अफसोर (नेपालबाट) अध्ययन लागि आवेदन दिएका ७ हजार ५ सय विद्यार्थीमध्ये जम्मा २ हजार ७ सयले मात्र भिसा पाएका छन् । गत वर्षको सोही अवधिमा ८ हजार २८ जनाले आवेदन दिएकामा ७ हजार १ सय ६७ जनाले भिसा पाएका थिए ।
एकातिर भिसा लाग्ने टुंगो नभएको र अर्कातिर भिसा शुल्कसमेत महँगिँदै गएपछि आवेदन दिनेको संख्या घटेको हो । अहिले विद्यार्थीले अध्ययनका लागि आवेदन दिँदा शुल्क मात्रै २ हजार ५ सय अस्ट्रेलियन डलर (करिब २ लाख ६० हजार रुपैयाँ) तिर्नुपर्छ र भिसा आवेदन अस्वीकृत भएमा उक्त रकम फिर्ता आउने सम्भावना रहँदैन ।
कोभिडपछि सरकारले धेरै संख्यामा विद्यार्थी भित्र्याएको थियो । तर विद्यार्थीले निर्धारित कोर्स पूरा गर्नुको साटो विषय परिवर्तन गरेर लामो समयसम्म विद्यार्थी भिसामा रहने प्रवृत्ति बढेपछि सरकार अझ बढी गम्भीर बनेको सिड्नीस्थित कानुन व्यवसायी सञ्जीव पाण्डे बताउँछन् । ‘रोजगार र घरभाडा नपाउने समस्या बढेपछि यसलाई सम्बोधन गर्न पनि सरकारले विद्यार्थी भिसामा कडाइ गरेको हुन सक्छ,’ उनले भने ।


