महिला कबड्डी टोलीले भारतमै तयारी गर्ने

२०८३ श्रावण १३, बुधबार
पढ्ने समय : 2 मिनेट

काठमाडौं 

१३ असार २०८३

राजु सामत

काठमाडौँ — नेपाली महिला कबड्डी टोलीले पनि २० औं एसियाली खेलकुदको तयारी भारतमा गर्ने भएको छ । एसियाडका लागि पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ ।

नेपाली खेलाडीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्नेछ । त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षण कायमै राख्नेछ । २ असोजमा टोली भारतबाटै एसियाली खेलकुदमा भाग लिन जापान जाने तालिका छ । एसियाली खेलकुद ३ असोजदेखि हुनेछ ।

महिला टोलीमा मानमती विष्ट (कप्तान), जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मीना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव छन् । खिममायाको यो एसियाड ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

टोलीकी अर्की सदस्य अनुजा कुलुङ राई भने प्राविधिक कारण (मेडिकल) २० औं एसियाडमा सहभागी नहुने भएकी छन् । उनको स्थानमा अरू खेलाडीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी छन् ।

महिला कबड्डीमा ८ राष्ट्रको सहभागिता रहनेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईसँग खेल्नेछ । ताइपेई गत संस्करणको उपविजेता हो । फाइनलमा ताइपेई भारतसँग समग्रमा १ अंक अन्तरले पराजित भएको थियो । समूह ‘ए’ मा इरान, जापान, बंगलादेश र भारत छन् ।

एसियाली खेलकुदमा महिला टोलीको दोश्रो सहभागिता हो । महिला टोलीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यसबेला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो ।

हाङझाउ एसियाडमा पदक जितेकामध्ये ६ खेलाडी अहिलेको टोलीमा छन् । मानमति, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जना पदक जितेको टोलीका सदस्य हुन् । हाङझाउ एसियाडमा पनि पार्वती नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिइन् ।

महिला कबड्डी टोलीले इरानमा सम्पन्न एसियाली कबड्डी प्रतियोगिता र चीनमा सम्पन्न एसियाली बिच खेलकुदमा पनि कांस्य जितेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले बुधबार बिदाइ गरे । सदस्य–सचिव मेहताले यसपालि पनि कबड्डी टोलीबाट पदकको धेरै आस गरेको बताए ।

 

:रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय