गाजा द्वन्द्व : हमासले पूर्ण रुपमा हतियार नबिसाएसम्म प्यालेस्टाइनबाट पछि नहट्ने इजरायलको अडान

२०८३ श्रावण १६, शनिबार
पढ्ने समय : 2 मिनेट

काठमाडौ 

१६ साउन २०८३ 

राजु सामत 

 

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास र अन्य विद्रोही समूहहरू निःशस्त्रीकरणका लागि सहमत भएको दाबी गरे पनि इजरायलले भने हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म आफ्ना सेना हालको मोर्चाबाट पछि नहट्ने कडा अडान लिएको छ ।

शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा हमास र अन्य सशस्त्र समूहहरू चरणबद्ध रूपमा हतियार बुझाउन सहमत भएको बताएका थिए । 

यो सहमति भएको कुरा अन्य मध्यस्थकर्ता देशहरूले पनि पुष्टि गरेका थिए । ट्रम्पका अनुसार यो ‘बोर्ड अफ पिस’ योजना युद्धविरामको दोस्रो चरणअन्तर्गत तयार पारिएको हो, जसको मुख्य उद्देश्य गाजामा जारी युद्ध सधैंका लागि अन्त्य गर्नु हो ।

गत वर्षको सेप्टेम्बर २० मा सार्वजनिक गरिएको २० बुँदे योजनामा सम्झौताको निगरानी गर्न ‘बोर्ड अफ पिस’ गठन, हमासको निःशस्त्रीकरण, इजरायली सेनाको फिर्ती र गाजाको पुनर्निर्माणलगायतका विषयहरू समावेश छन् ।  तर, यो दाबीलगत्तै इजरायलका तर्फबाट भने कडा प्रतिक्रिया आएका छन् ।

इजरायली राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन गभिरले उक्त मस्यौदा इजरायलका लागि स्वीकार्य नभएको बताएका छन् । यस्तै, एक वरिष्ठ इजरायली अधिकारीले बीबीसीसँग कुरा गर्दै हमासलाई पूर्ण रूपमा निःशस्त्रीकरण नगरेसम्म इजरायली रक्षा बल हालको ‘येलो लाइन’बाट पछि नहट्ने स्पष्ट पारेका छन् । यस विषयमा प्रधानमन्त्री नेतान्याहुले भने हालसम्म कुनै पनि औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।  

गत वर्ष अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि इजरायलले आफ्ना सेना सीमित गरेको घेरालाई ‘येलो लाइन’ भनिन्छ । सम्झौताअनुसार उक्त घेरा पछाडिको क्षेत्र अर्थात् गाजाको करिब ५३ प्रतिशत भू–भाग संक्रमणकालभर इजरायलको नियन्त्रणमा रहने भनिएको थियो र हमास पूर्ण रूपमा निःशस्त्र भएपछि मात्रै उक्त क्षेत्रबाट सेना फर्कने उल्लेख थियो ।

तर गत मे महिनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले करिब ७० प्रतिशत क्षेत्र नियन्त्रणमा लिने आफ्नो लक्ष्य रहेको बताएका थिए । भर्खरै इजरायली सेनाले गाजाको ६० प्रतिशत भू–भाग नियन्त्रणमा लिइसकेको दाबी गरेको छ ।

यसैबीच, शुक्रबार नै इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा आक्रमण गरेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । इजरायली सेनाले यस सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । 

हमासले पहिले हतियार बुझाउने कि इजरायली सेना पहिला गाजाबाट फिर्ता हुने भन्ने मुख्य प्रश्नले महिनौंदेखि सम्झौता कार्यान्वयनलाई जटिल बनाउँदै आएको छ । ट्रम्पले भने गाजाको अवस्था अत्यन्त जटिल रहेको र हमासका हतियार ‘बोर्ड अफ पिस’ लाई हस्तान्तरण गरिने जवाफ दिएका छन् । 

 

 

 

 

 

रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय