प्रवासका पत्रकारलाई मताधिकार मागसहित ९ बुँदे ‘टोकियो घोषणापत्र’ जारी सम्मेलनले नेपालमा प्रेस तथा अभिव्यक्ति

२०८३ श्रावण १७, आईतवार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं 

१७ साउन २०८३

राजु सामत

 

काठमाडौँ — टोकियोमा सम्पन्न ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६’ ले ‘९ बुँदे टोकियो घोषणापत्र’ जारी गरेको छ ।

नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठको अवसर पारेर जुलाई २५ मा भएको सम्मेलनले प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार र वैदेशिक शाखाका सदस्यहरुको मताधिकार सुनिश्चित गर्न माग गर्दै घोषणापत्र जारी गरेको हो ।

सम्मेलनले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेका अंकुश लगाउने प्रयासप्रति चिन्ता व्यक्त गरेको छ । घोषणापत्रमा सरकारका गतिविधिप्रति चासो व्यक्त गर्दै भनिएको छ, ‘संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय लोकतान्त्रिक अभ्यासविपरीत नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अंकुश लगाउने उद्देश्यले सरकारले गरेका वा गर्न खोजिएका गतिविधिप्रति गम्भीर चासो तथा चिन्ता व्यक्त गर्दछ ।’

त्यसैगरी, महासंघको विधान संशोधनमार्फत वैदेशिक शाखामा आबद्ध सबै सदस्यलाई नेतृत्व छान्ने अधिकार दिलाउन पहल गर्ने विज्ञप्तिमा उल्लेख छ । महासंघ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठ ‘गोर्खाली’ र सचिव अर्जुन लामिछानेद्वारा हस्ताक्षरित ९ बुँदे घोषणापत्रको चौथो बुँदामा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको विधान संशोधनमार्फत वैदेशिक शाखामा आबद्ध सबै सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्ने निर्णय गर्दछ ।’

यसका साथै, प्रवासमा कार्यरत नेपाली पत्रकारहरुको योगदानको सम्मान स्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

घोषणापत्रमार्फत गैरआवासीय नेपाली नागरिकलाई संविधानले प्रत्याभूत गरेका राजनीतिक अधिकारबाहेकका अन्य सबै संवैधानिक अधिकार व्यवहारमा सहज रुपमा उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरिएको छ ।

महासंघ अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा युरोप, बेलायत, अमेरिका, अस्ट्रेलिया, मध्यपूर्व, दक्षिण कोरिया, भारत लगायतका विभिन्न वैदेशिक शाखाका प्रतिनिधिहरुको सहभागिता थियो । सम्मेलन नेपाल पत्रकार महासंघको समन्वयमा जापान शाखाको आयोजनामा भएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय