काठमाडौ
१८ साउन २०८३

राजु सामत
काठमाडौँ — बर्सातसँगै सर्पदंशका घटना बढ्दै गर्दा देशभरका अस्पताल र सर्पदंश उपचार केन्द्रमा सर्पदंशविरुद्धको एन्टि–स्नेक भेनमको चरम अभाव भएको छ । एन्टि–स्नेक भेनम(प्रतिविष) अभाव हुँदा विषालु सर्पले डसेका सयौं बिरामीको ज्यान जोखिममा परेको छ ।
सम्बन्धित निकायले समयमै जीवनरक्षक एन्टि–स्नेक भेनम उपलब्ध गराउन नसक्दा सर्पदंश उपचार केन्द्र र अस्पतालका स्वास्थ्यकर्मी गम्भीर अवस्थामा ल्याइएका बिरामीको उपचार गर्न कठिनाइ भोगिरहेका छन् ।
‘हामीसँग एन्टि–स्नेक भेनमको एक डोज पनि बाँकी छैन, प्रदेश अन्तर्गतका अस्पताल र सर्पदंश उपचार केन्द्रहरूमा पनि आपूर्ति गर्न सकिएको छैन,’ मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी उज्ज्वल यादवले जनकपुरबाट टेलिफोनमा भने, ‘पछिल्ला दिनमा विषालु सर्पको डसाइका घटना उल्लेख्य रूपमा बढेका छन्, तर स्वास्थ्य संस्थालाई उपचारको लाग वितरण गर्न हामीसँग एन्टि–स्नेक भेनम छैन ।’
गर्मी र वर्षायाममा नेपालमा सर्पदंशका घटना र त्यसबाट हुने मृत्यु बढ्ने गर्दछ ।
यो वर्ष वैशाख १ देखि यता मात्र विषालु सर्पको डसाइबाट कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ७१६ जना अस्पताल भर्ना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तर, विभिन्न सर्पदंश उपचार केन्द्रहरूको तथ्यांकले वास्तविक संख्या यसभन्दा धेरै बढी रहेको देखाउँछ ।
उदाहरणका लागि, कपिलवस्तुको गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रले मात्र वैशाख यता ५०० भन्दा बढी सर्पदंशका बिरामीको उपचार गरिसकेको छ, जसमध्ये एक दर्जनभन्दा बढी विषालु सर्पले डसेका थिए ।
एन्टि–स्नेक भेनम बाहिर औषधि पसलमा किन्न पनि पाइँदैन कारण राज गोमन र करेत जस्ता विषालु सर्पले डसेमा एउटै बिरामीलाई २० भाइलभन्दा बढी दिनु पर्ने हुँदा उपचार अत्यधिक महँगो पर्न जान्छ जुन सर्वसाधारणले किनेर लगाउन सक्दैनन् । सरकारले आफैं किनेर स्वास्थ्य संस्थामार्फत निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।
मधेश प्रदेशमा २७ वटा सर्पदंश उपचार केन्द्र छन् । साथै, अस्पतालहरूले पनि सर्पदंशका बिरामीको उपचार गर्ने भएकाले उपचार केन्द्रहरूले अस्पतालहरूलाई पनि एन्टि–स्नेक भेनम उपलब्ध गराउनुपर्ने हुन्छ ।
हाम्रो प्रदेशका अधिकांश सर्पदंश उपचार केन्द्रमा एन्टि–स्नेक भेनम छैन,’ यादवले भने, ‘कतै पाँच भाइल छन्, कतै ११ वटा मात्रै छन् । स्वास्थ्यकर्मीहरूबाट दैनिक दर्जनौं फोन आउँछन्, तर उपलब्ध गराउन हामीसँग छैन ।’
प्रदेशका स्वास्थ्य अधिकारीहरूले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पटकपटक एन्टि–स्नेक भेनम माग गरे पनि उपलब्ध नभएको गुनासो गरेका छन् । मधेश प्रदेशलाई मात्र हरेक वर्ष ८,०० देखि १,००० भाइल एन्टि–स्नेक भेनम आवश्यक पर्छ ।
‘उपचारका लागि एन्टि–स्नेक भेनम उपलब्ध नभए बिरामीको मृत्युको जोखिम बढ्छ,’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सालिकराम कालाठोकीले भने, ‘यस्तो अवस्थामा मृतकका आफन्तबाट स्वास्थ्य संस्थामा तोडफोड हुने र स्वास्थ्यकर्मीमाथि आक्रमण हुने जोखिम पनि बढ्छ ।’
:रासस

