बारा
४ भदोै २०८३

राजु सामत
बारा — स्थानीय सरस्वती आधारभूत विद्यालयको बाल विकास कक्षामा पढ्दै गरेकी जितपुर सिमरा उपमहानगरपालिका-१ सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीकी बलात्कारपछि हत्या गरिएको विरोधमा जिल्लाका विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ ।प्रदर्शनकारीले राजमार्गसमेत ठप्प पारेका छन् ।
सडकमा टायर बालेर सरकार र प्रहरीविरूद्ध उत्रेका स्थानीयले वीरगन्ज-पथलैया सडक खण्डमा दुई दिनदेखि अवरोध गरेका छन् । कलैया, कोल्हवी, डुमरवाना, बडहर्वा, जितपुर सिमरामासमेत प्रदर्शन चर्किएको छ । उनीहरू बिहीबार इलाका प्रहरी कार्यालयसमेत घेराउ गर्न पुगेका थिए ।
बालिकाको ज्यान जोगाउन र उनको खोजी कार्यमा प्रहरीले समयमा साथ नदिएको भन्दै बालिकाको परिवारले न्याय पाउनुपर्ने भन्दै उनीहरू सडकमा उत्रेका हुन् । बालिकाको शव उनका आफन्त वा परिवारले अझै बुझेका छैनन् । तीन दिनदेखि शव कलैया प्रादेशिक अस्पतालमै छ । स्थानीय प्रहरी प्रशासनले प्रदर्शनकारीहरूसित पटक-पटक वार्ता गर्दासमेत अवरोध खुलाउन र प्रदर्शन रोक्न सहमति हुन सकेको छैन
राजमार्ग अवरोधले ३० किलोमिटर घुमाउरो बाटो प्रयोग गरी वीरगन्जतर्फ र वीरगन्जबाट बाहिर निस्कने सवारीसाधन कलैया-पिलुवा हुँदै पूर्व-पश्चिम राजमार्गमा ओहोरदोहोर हुँदै आएकामा बिहीबार दिउँसोदेखि कलैया-पिलुवा सडकमा समेत स्थानीयले अवरोध गरेका छन् ।
- सडकमा उत्रिएका प्रदर्शनकारीले मौजुदा कानुन संशोधन गरी कडा सजायको व्यवस्था हुनुपर्ने माग पनि उठाएका छन् । प्रदर्शनकारीले बलात्कारविरूद्धको ऐन कानुन संशोधनको माग उठाएका हुन् । प्रदर्शन नियन्त्रमा राख्न ठाउँ ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले यसअघि नै स्थानीय १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी बलात्कार र हत्या कसुरमा अदालतबाट ४ दिनको म्याद थप गराई कलैया प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले बताए । प्रारम्भिक अनुसन्धानमै मुख्य आरोपी (अभियुक्त) १६ वर्षीय थापाले आफूले बलात्कार गरेको र डोरीले घाँटी कसेर हत्या गरेको स्वीकारी बयान गरिसकेकाले उनीहरू दुवैलाई पत्रकार सम्मेलनमार्फत बुधबार सार्वजनिक गरिसकेको छ ।

