काठमाड
२०८३ असार १२ गते

राजु सामत
काठमाडौँ —
कक्षा १२ को नतिजा प्रकाशनमा लापरबाही गरिएको भन्दै विद्यार्थीले सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलको विरोध गर्न थालेका छन् । हतारमा नतिजा प्रकाशन गरेर हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाउँदै असन्तुष्ट उनीहरूले सामाजिक सञ्जाल टिकटक, रेडिट र फेसबुकमार्फत मन्त्री पोखरेलको राजीनामा मागेका छन् ।
नतिजाप्रति असन्तुष्टि जनाउँदै केही विद्यार्थीले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । छिटो नतिजा सार्वजनिक गर्ने नाममा उत्तरपुस्तिका परीक्षणमा गम्भीर त्रुटि गरिँदा विद्यार्थीको भविष्यमा असर परेकाले आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ५ असारमा सार्वजनिक गरेलगत्तै सामाजिक सञ्जालमा असन्तुष्टि पोखिन थालेको थियो । युवापुस्ताले बढी प्रयोग गर्ने ‘टिकटक’ र ‘रेडिट’ जस्ता प्लाटफर्महरूमा मन्त्री पोखरेलविरुद्ध तीव्र आक्रोश व्यक्त भइरहेको छ । टिकटकमा ‘रिजाइन सस्मित पोखरेल’ र ‘ग्रेड १२ अनफेयर’ जस्ता ह्यासट्याग र पोस्टरहरू सेयर भइरहेका छन् । ‘ग्रेड १२ अनफेयर’ नामक अकाउन्ट नै खोलेर शिक्षामन्त्रीको राजीनामा माग गरिएको छ ।
‘चक्रदट्रुथ’ नामक टिकटक अकाउन्टबाट पोस्ट गरिएको एक भिडियोमा लेखिएको छ, ‘सरकारको हतारोले हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ, के तपाईंको मन पोल्दैन ? रिजाइन नेपोकिड !’ ‘प्याकेट स्पाई’ नामक अर्को अकाउन्ट र विवेक नामका प्रयोगकर्ताले शिक्षामन्त्री पोखरेलको तस्बिर पोस्ट गर्दै प्रणालीमाथि नै प्रश्न उठाएका छन् । विवेकले लेखेका छन्, ‘हामीले उनलाई शक्तिशाली बनायौं तर उनले हामीविरुद्ध नै नराम्रो गरे । हाम्रो भविष्य, लगानी र मिहिनेत बर्बाद बनाए । राजीनामा, राजीनामा, राजीनामा !’ उक्त भिडियो छोटो समयमै ३ लाख ३४ हजारभन्दा बढी पटक हेरिएको छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका कतिपय भिडियोमा विद्यार्थीले रोएरै आफ्नो समस्या र आक्रोश पोखेका छन् । अन्जुम नामकी एक प्रयोगकर्ताले पोस्ट गरेको भिडियो ५ लाख ३७ हजारभन्दा बढी पटक हेरिएको छ, जसमा उनले परीक्षा बोर्ड र मन्त्रालयको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन् ।

