काठमाडौ
२०८३ जेठ १० गते

राजु सामत
काठमाडौं — साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरम्कोको परियोजनामा काम गर्ने नेपालीसहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तराष्ट्रिय अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
आप्रवासी श्रमिकको मानव अधिकारसम्बन्धी अनुसन्धान गर्ने लण्डनस्थित संस्था फेयर स्क्वायरद्वारा हालै सार्वजनिक प्रतिवेदनअनुसार साउदी आरम्को परियोजनामा कार्यरत नेपालीसहित विदेशी श्रमिकलाई अत्यधिक गर्मीमा लामो समयसम्म काम गराइने, असुरक्षित आवासस्थलमा राखिने, पर्याप्त आराम र खाना नदिने, दुर्घटना वा मृत्यु हुँदा समेत उचित क्षतिपूर्ति नपाइने अवस्था छ ।
आम्दानीका आधारमा यो विश्वकै चौथो ठूलो कम्पनीमध्ये पर्छ । कम्पनीसँग विश्वकै दोस्रो ठूलो प्रमाणित कच्चा तेल भण्डार छ र अहिले पनि विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता मानिन्छ । आरम्कोमा साउदी सरकार र सार्वजनिक लगानी कोषको करिब ९८ प्रतिशत स्वामित्व छ । आरम्कोले तेल बिक्रीबाट कमाउने आम्दानी साउदी सरकारको कुल राजस्वको करिब २ तिहाइ हिस्सा मानिन्छ ।
द वाल स्ट्रिट जर्नल’का अनुसार अराम्कोसँग साउदीभित्र मात्रै १० हजारभन्दा बढी आपूर्तिकर्ता कम्पनी छन् । ती कम्पनीअन्तर्गत विभिन्न उपठेकेदारमार्फत श्रमिक भर्ना गरिन्छ । यही जटिल संरचनाका कारण श्रमिकमाथि हुने शोषणमा जिम्मेवारी निर्धारण गर्न कठिन हुने गरेको प्रतिवेदनले जनाएको छ । यी परियोजनामा साउदीको निर्माण क्षेत्रमा कार्यरत नेपाली श्रमिकको करिब २० प्रतिशत कार्यरत छन् ।
अराम्कोका विभिन्न परियोजनामा काम गर्ने श्रमिकहरूले ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रममा दैनिक १२ देखि १४ घण्टासम्म काम गर्नुपरेको बताएका छन् । धेरै श्रमिक गर्मीका कारण कार्यस्थलमै बेहोस हुने प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा साउदी पुगेका २७ वर्षीय कमलले (नाम परिवर्तन) होटलमा काम पाइने भन्दै गएको बताए । त्यसका लागि उनले एक लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए । तर, साउदी पुगेपछि उनलाई अराम्कोको ग्यास प्लान्टसँग सम्बन्धित निर्माण परियोजनामा खटाइयो । ‘हामीले विदेश गएपछि राम्रो काम पाइन्छ भन्ने सोचेका थियौं । तर, त्यहाँ पुग्दा वास्तविकता अर्कै रहेछ । पुगेलगत्तै राहदानी जफत गरियो । चर्को घाममा दैनिक १२ घण्टासम्म काम गर्न बाध्य बनाइयो,’ उनले भने, ‘हामीसँग काम गर्ने धेरै साथी गर्मीका कारण कार्यस्थलमै ढलेको देखेँ । मलाई गर्मीमा बाहिर काम गर्न निकै कठिन भयो । १० महिना काम गरेपछि साउदी छाडे ।’
प्रतिवेदनमा अराम्कोको २१ अर्ब अमेरिकी डलर लागतको ‘मार्जन इन्क्रिमेन्ट’ परियोजनामा काम गरेका श्रमिकका अनुसार यहाँ जुन र जुलाई महिनामा तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गर्छ । पानीको कमी र अत्यधिक गर्मीका कारण धेरै श्रमिक बेहोस हुने गरेका छन् । ‘धेरै जना गर्मीले ढल्थे । शरीरका अंगले काम गर्न सक्दैनथ्यो,’ उनले भने ।
जिजानस्थित परियोजनामा काम गरेका अर्का नेपाली श्रमिकका अनुसार एक नेपाली साथी हिड्दा हिड्दै बेहोस भएर ढले । ‘गाडी आयो, पानी छर्कियो र उनलाई एयर कन्डिसन भएको कोठामा लगियो । कोही बेहोस् भए उनीहरूलाई कोठामा एक्लै छाडिन्छ,’ उनले भने,‘त्यहाँ जे पनि हुन सक्छ ।’
उनका अनुसार तापक्रम ५० डिग्रीभन्दा माथि पुगे मात्रै काम रोकिन्छ । त्यसबाहेक श्रमिकलाई छायाँमा बसेर भए पनि काम गर्न लगाइन्छ । गोरखाका ४० वर्षीय प्रसाद (नाम परिवर्तन) ले दमामस्थित ग्यास प्लान्टसँग सम्बन्धित पाइपलाइन परियोजनामा १३ वर्ष काम गरेका थिए । उनका अनुसार सुरक्षा अधिकारीहरूले आराम गर्न भने पनि फोरम्यानहरूले लगातार काम गर्न दबाब दिने गर्थे । सुरक्षा अधिकारीहरूले १ घण्टा काम गरेपछि १५ मिनेट आराम गर्न भने पनि व्यवहारमा त्यो सम्भव नभएको उनले बताए
सेफ्टीका मान्छेले लगातार काम नगर, एक घण्टा काम गरेर १५ मिनेट आराम गर’ भन्थे । तर, फोरम्यानले जबर्जस्ती काम लगाउँथे । त्यसैले निरन्तर काम गर्नुपर्थ्यो,’ उनले भने, ‘लामो समय चर्को गर्मीमा काम गरेपछि स्वास्थ्य बिग्रियो । मलाई मिर्गौला रोग लागिसकेछ ।’
यति गम्भीर अवस्थामा पनि उनको रोजगारदाताले फर्किएपछि एकपटक पनि सम्पर्क गरेन । क्षतिपूर्तिको विषयमा कुनै छलफलसमेत भएन । ‘त्यतिबेला मेरो स्वास्थ्य यति खराब थियो कि पहिले ज्यान जोगाउनुपर्छ भन्ने लाग्यो । क्षतिपूर्तिको कुरापछि सोचौंला भन्ने भयो,’ उनले भने, ‘अराम्को साउदीकै सबैभन्दा धनी कम्पनी हो । हामीजस्ता श्रमिकले काम गरेर नै त्यो धनी भएको हो । तर, आज म बिरामी हुँदा उसले केही गरेन ।’
सिराहाका विशाल (नाम परिवर्तन) अराम्कोसँग सम्बन्धित इन्धन ढुवानी कम्पनीमा चालक थिए । उनका अनुसार दैनिक १८–१९ घण्टासम्म ट्यांकर चलाउनु सामान्यजस्तै थियो । उनका अनुसार चालकहरूको अवस्था र सुरक्षाप्रति कम्पनीको कुनै चासो थिएन ।

