काठमाडौ
२०८३ असार १५

राजु सामत
ताप्लेजुङ — ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोलाका नुपु शेर्पाले शनिबार दुई महिनापछि साथीहरुसित गफ गर्ने फुर्सद पाए । बिहान चौंरी, याकलाई घाँस–खोले दिने, घरको बन्दोबस्त मिलाएर दिनभरि गाउँको ढल, बाटो बनाइरहेका उनले बल्ल फुर्सद पाएका हुन् ।
उनको गाउँमा ढल र बाटो निर्माणका लागि यो वर्ष वडा कार्यालयले ९ लाख रुपैयाँ विनियोजन गरेको थियो । ‘गाउँमा योजनाको काम अब सकिँदै गयो, समितिको मान्छेले पालिका गएर विलभरपाइ पेश गरी भुक्तानी लिएर आउँछन् । काम गरेको पैसा बाँडेपछि बल्ल पूरै फुर्सद हुन्छ,’ नुपुले भने । सामान्यतया यहाँ दिनभरी काम गरे एक हजार रुपैयाँ ज्याला पाइन्छ । तर आफ्नै वडाको बजेट कार्यान्वयन गर्नुपर्ने र स्टिमेट अनुसारको काम गर्नुपर्ने भएकाले त्यो अनुसारको रकम नबस्ने नुपु बताउँछन् ।
फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन शेर्पा लामासहित वडा सदस्यहरु पालिकाको केन्द्र तापेथोक झरिसकेका छन् । आगामी आर्थिक वर्षको बजेटमा आफ्नो वडाले पाउने रकम सुनिश्चित गर्न उनीहरु पालिका झरेका हुन् । वडाले आगामी वर्षमा पाउने रकम के काममा लगाउने भन्ने विषयमा गाउँमा छलफल पनि गरिसकेका छन् ।
३१ सय मिटर उचाइमा रहेको मिक्वाखोला गाउँपालिका ५ पापुङ तोक्पेगोलाको सोदो पोखरीमा मुर्ती राख्ने काम भर्खरै सम्पन्न भएको छ । गाउँपालिका र अमेरिकामा रहेका नेपालीको सहयोगमा वडा कार्यालयले यहा मुर्ती राख्ने स्थान निर्माण गरेका हुन् । वडासदस्य तोप्ला शेर्पाका अनुसार उपल्लो बस्तीको यो सबैभन्दा ठूलो योजना हो । यसमा तोक्पेगोलामा बसोबास गर्ने सबै १३ परिवारका सदस्यदेखि एक दिनको पैदलमा रहेको पापुङको बस्तीका बासिन्दा पनि सहभागी थिए ।
तीन हजार मिटर भन्दा माथिका हिमाली बस्तीमा यतिबेला चहलपहल हुने गरेको छ । हिउँदभरि खाली हुने हिमाली बस्तीहरुमा वैशाखपछि मात्रै मानवीय गतिविधि हुने गरेको हो । यी बस्तीमा विकास निर्माणका काम पनि यतिबेला मात्रै हुने गरेका छन् । जिल्लामा ओलाङचुङगोला, घुन्सा, फले, तोक्पेगोला ३१ सय मिटर उचाइका हिमाली बस्ती छन् । याङमा, खम्बाछेन ४२ मिटर उचाइमा छन् । यहाँ भन्दा माथि बस्ती छैनन् ।
हिउँदमा यी अधिकांश बस्ती सुनसान हुन्छन् । धेरै मानिस चिसो छल्न औलतिर झर्छन् । फागुनपछि बल्ल उकालो चढ्न थाल्छन् । वैशाखदेखि भदौसम्म ढुक्कै गाउँमा बस्छन् । यहाँका विद्यालय, सरकारी कार्यालय पनि बर्खायाममा मात्रै नियमित खुल्छन् । ‘जत्रो पानी, झरी परे पनि हामीले यतिबेला काम गर्नैपर्ने हुन्छ,’ नुपुले भने, ‘हिउँदमा हिउँले काम गर्ने ठाउँ पूरै छोपिदिन्छ, बर्खामा पानी परे पनि कम्तीमा काम गर्ने ठाउँ त क्लियर हुन्छ ।

